अमेरिकी र रुसी अधिकारीहरूबीच युक्रेन युद्ध अन्त्यको विषयमा पाँच घन्टा वार्ता, निस्केन निष्कर्ष

119
Shares

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका शीर्ष वार्ताकारहरूबीच मस्कोमा भएको पाँच घण्टाको वार्ताले युक्रेन शान्ति सम्झौतामा सम्भावित प्रगति गर्न नसकेको अमेरिकी सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेका छन् ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफ र ज्वाईं जेरड कुशनरले मंगलबार क्रेमलिनमा पुटिनसँग उच्चस्तरीय छलफल गरेका थिए । रुस र युक्रेनबीच चलिरहेको युद्धलाई अन्त्य गर्ने प्रयासका रूपमा केही महिनादेखि ट्रम्प प्रशासनले कूटनीतिक प्रयास थालेको छ र यो बैठक त्यसैक्रममा बसेको हो ।

वार्ता धेरै उपयोगी, रचनात्मक र अत्यन्त सारगर्भित भए पनि सम्झौताका लागि विकल्प नभेटिएको पुटिनका विदेशनीति सल्लाहकार तथा सहायक युरी उशाकोभले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए ।

‘अमेरिकाका प्रस्तावहरूमध्ये कतिपय स्वीकार्य देखिन्छन् तर तिनबारे थप छलफल आवश्यक छ,’ उशाकोभले भने, ‘उनीहरूका केही बुँदाहरू भने हाम्रा लागि उपयुक्त छैनन् । तर वार्ता जारी छ ।’

ट्रम्पको शान्ति प्रस्तावमा युक्रेनले आधिकारिक रूपमा नेटोमा प्रवेश गर्ने आकांक्षा त्याग्नुपर्ने र पूर्वी युक्रेनको डोनबास क्षेत्रका भूभागहरू रुसलाई सुम्पनुपर्ने उल्लेख छ । रुसले कब्जा गरेको घोषणा गरिसकेको तर पूर्णरूपमा नियन्त्रण नगरेको भूभाग पनि त्यसमा पर्छ ।

अमेरिकी पक्षले वार्ताबारे सार्वजनिक रूपमा केही बताएन । तर, बैठकअघि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिका साढे तीन वर्ष लामो युद्ध अन्त्य हुने सम्झौतामा पुग्न सकिने विषयमा धेरै आशावादी रहेको बताएकी थिइन् ।

पुटिन र ट्रम्पबीच भेट तय नभएको र सम्भावित प्रत्यक्ष भेटघाट वार्तामा हुने प्रगतिमा निर्भर रहने उशाकोभले बताए ।

युक्रेनी अधिकारीहरू भने रुसका अधिकतम मागहरू अस्वीकार गरिरहेका छन् ।

उशाकोभका अनुसार, पुटिन र अमेरिकी टोलीबीचको वार्तामा भूभागसम्बन्धी मुद्दाहरू पनि उठे । त्यो विना संकटको समाधान नदेखेको उनी बताउँछन् ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने अमेरिकी वार्ता टोली पुटिनसँगको वार्तापछि तुरुन्त सम्पर्कमा आउने आशा व्यक्त गर्दै संकेतको प्रतीक्षा गरिरहेको बताए ।

‘हामी निश्चित संकेतहरू प्राप्त गर्नेछौं र ती संकेतहरू हामी अनुकूल भएमा हामी चाँडै अमेरिकी टोलीसँग भेट गर्न सक्छौं,” जेलेन्स्कीले वार्ताअघि भने ।

वार्ताको केही घण्टा अघि पुटिनले चेतावनी दिँदै युरोपसँग युद्ध गर्ने रुसको योजना नभए पनि युरोपले युद्ध थालेमा त्यसको जवाफी कारवाही गर्न आफूहरू तयार रहेको बताए ।

यसअघि युरोपेली नेताहरूले रुसका लागि पूर्ण रूपमा अस्वीकार्य मागहरू राखेर अमेरिकाले प्रस्ताव गरेको शान्ति सम्झौतालाई अवरुद्ध गर्न खोजेको आरोप पुटिनले लगाएका थिए । युक्रेनका युरोपेली सहयोगीहरू युद्धको पक्षमा रहेको उनको भनाइ छ ।

‘उनीहरूले आफैं शान्तिवार्तालाई अस्वीकार गरेका छन् र राष्ट्रपति ट्रम्पलाई अवरोध गरिरहेका छन्,’ उनले थपे ।

पुटिनले विस्तृत रूपमा व्याख्या नगरे पनि उनी ट्रम्पको २८ बुँदे मूल शान्ति योजनामा युरोपेली देशहरूले गराएका परिवर्तनतर्फ संकेत गरिरहेका थिए । उक्त प्रस्ताव गत महिना अमेरिकाले अघि सारेको थियो । तर, युक्रेन र उसका युरोपेली साझेदारहरूले त्यसलाई अस्वीकार गरेका थिए ।

मस्कोमा भएको महत्त्वपूर्ण वार्ताको केही घण्टाअघि नै रुस सरकार क्रेमलिनले कुनै पनि शान्ति सम्झौताले रुसको आक्रमणको मूल कारणको समाधान गर्नुपर्ने कुरा दोहोर्याएको छ । नेटोको विस्तार रोक्ने, कब्जा गरेको युक्रेनी भूभागमा रुसको नियन्त्रणलाई मान्यता दिने र युक्रेनलाई नेटोमा जोडिन नदिने रुसको माग छ ।

पुटिन र अमेरिकी प्रतिनिधिहरूको बैठकअघि अमेरिकी अधिकारी र युक्रेनी प्रतिनिधिहरूले आइतबार मायामीमा वार्ता गरेका थिए । त्यसलाई विदेशमन्त्री मार्को रुबियोले प्रभावकारी भनेका थिए । तर, अझै धेरै काम बाँकी रहेको चेतावनी पनि उनले दिए ।