युक्रेनको पोक्रोभ्स्क शहरमा नियन्त्रण कायम गरेको रुसको दाबी

161
Shares

एजेन्सी । रुसको सेनाले झन्डै दुई वर्षदेखि घेराबन्दीमा परेको पूर्वी युक्रेनी सहर पोक्रोभ्स्क कब्जा गरेको दाबी गरेको छ । त्यो महत्त्वपूर्ण बन्दोबस्ती केन्द्र मानिन्छ ।

रुसका सेनाप्रमुख भालेरी गेरासिमोभलाई उद्धृत गर्दै सरकारले यो जानकारी दिएको हो । रुसी सेनाले खार्किभ प्रदेशको पूर्वी युक्रेनी सहर भोभ्चान्स्क पनि कब्जा गरेको जनाइएको छ ।

रुस सरकार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार, गेरासिमोभले आइतबार दिउँसो राष्ट्रपति भ्लादिमिर पुटिनलाई फ्रन्टलाइन कमान्ड सेन्टर भ्रमणका दौरान यी क्षेत्रहरू मुक्त गरिएको जानकारी दिएका थिए । यो समाचार रुसी समाचार एजेन्सी तासले दिएको हो ।

पोक्रोभ्स्क दोनेत्स्क प्रदेशमा रहेको प्रमुख यातायात केन्द्र हो । यो पूर्वी युक्रेनका ती चार क्षेत्रमा पर्छन् जसलाई रुसले आफूमा विलय गरिएको दाबी गर्छ ।

६० हजार जनसंख्या भएको यो शहर पछिल्ला केही हप्तादेखि रुसी ड्रोन, तोपखाना र बमले धेरैपटक प्रहार हुँदै आएको छ । त्यसले धेरै भवनहरूलाई ध्वस्त पारेका छन् ।

युक्रेनले अझै उक्त शहर रुसी नियन्त्रणमा गएको कुरा पुष्टि गरेको छैन । तर, मस्कोले सैनिकहरू पोक्रोभ्स्कका सडकहरूमा मार्च गरिरहेको तथा रुसी झन्डा फहराइरहेको भिडियो प्रसारण गरिरहेको रोयटर्स समाचार संस्थाले लेखेको छ ।

तासका अनुसार, पछि राष्ट्रपति पुटिनले रुसी सेनालाई यस विजयका लागि बधाई दिएका छन् ।

‘क्रास्नोआर्मेइस्क (पोक्रोभ्स्कको रुसी नाम) मा तपाईंहरूको विजयका लागि म धन्यवाद दिन चाहन्छु । सम्पूर्ण कमान्ड तह र लडाकु समूहका सदस्यहरूलाई पनि बधाई छ । विशेषगरी युद्धका मिशनहरू पूरा गरेका लडाकुहरू धन्यवादका पात्र हुन्,’ पुटिनले बताए ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्ध समाप्त गर्ने उपायहरूबारे छलफल गर्न यसै साता अमेरिकी तथा युरोपेली नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

रुसलाई कुनै पनि भूभाग सुम्पने गरी सम्झौता नगर्ने विषयलाई आफूले प्राथमिकता दिएको जेलेन्स्कीको भनाइ छ ।