बाढीप्रभावित श्रीलंकालीहरूलाई पाकिस्तानले म्याद गुज्रेको औषधि र खानेकुरा पठाएपछि आक्रोश

266
Shares

एजेन्सी । पाकिस्तानले श्रीलंकालाई पठाएको आपतकालीन राहत सामग्रीमा म्याद सकिएका औषधि र प्रयोग गर्न नसकिने खाद्यान्न प्याकेट फेला परेपछि इस्लामाबादको आलोचना भएको छ ।

चक्रवात दित्वाका कारण भएको विनाशपछि सहयोगस्वरूप पठाइएका सामग्रीहरू कोलम्बो आइपुग्नेबित्तिकै विपद् व्यवस्थापन अधिकारीहरूले जाँच गर्दा समस्या देखिएको हो । वरिष्ठ अधिकारीहरूका अनुसार, धेरै बाकसहरूमा म्याद सकिएका वस्तु भेटिएपछि विपद् व्यवस्थापन केन्द्र र विदेश मन्त्रालय दुवैले चिन्ता व्यक्त गरेका थिए ।

श्रीलंकाले कूटनीतिक माध्यममार्फत पाकिस्तानप्रति आफ्नो असन्तुष्टि प्रकट गरेको बताइएको छ । देशमा दशकौंपछि सबैभन्दा ठूलो प्राकृतिक विपद्का बीच यस्तो घटना हुनु अत्यन्त दुःखद भएको श्रीलंकाको धारणा छ ।

यस घटनाले पाकिस्तानको मानवीय सहयोगको गुणस्तर र गम्भीरतामाथि प्रश्न उठाएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई अपमान र सहयोग कूटनीतिको मजाक भन्दै कडा आलोचना गरेका छन् । श्रीलंका सरकारले इस्लामाबादसँग यसबारे स्पष्टीकरण माग्नुपर्ने सुझाव धेरैले दिएका छन् ।

पाकिस्तानले विदेश पठाउने राहत सामग्रीसँग जोडिएको यो पहिलो विवाद हैन । २०७२ सालमा नेपालमा आएको महाभूकम्पका बेला पनि पाकिस्तानले हिन्दूबहुल नेपालीलाई गोरुको मासुबाट बनेको ‘रेडी–टु–ईट’ भोजन पठाएको भन्दै आलोचना भएको थियो ।

श्रीलंकामा अहिले विनाशकारी बाढी र पहिरोका कारण ३६६ भन्दा बढीको मृत्यु भइसकेको छ । करिब ४०० जना बेपत्ता छन् र देशका २५ वटै जिल्लामा करिब १० लाख मानिस प्रभावित भएका छन् । हजारौं घर, सडक र पुल क्षतिग्रस्त वा ध्वस्त भएका छन् । कृषि क्षेत्रको क्षति अर्बौं रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

अधिकारीहरूले केही प्रान्तमा बीच–बीचमा वर्षा जारी रहने चेतावनी दिएका छन् । यसैबीच, उद्धार टोलीहरू दुर्गम क्षेत्रमा पुग्न संघर्ष गरिरहेका छन् ।