एनपीएल सिजन २

डुप्लेसीसहित धुरन्धर खेलाडी भित्र्याएको विराटनगर, एनपीएल दोस्रो सिजनमा कति गर्यो खर्च ?

किंग्सको कमब्याक, चार उद्योगीले यसपालि पनि दिए क्रिकेटलाई निरन्तरता


विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)मा उद्यमी व्यवसायीहरुको फ्रेन्चाइजी क्रिकेट टिम विराटनगर किंग्सको कमब्याक कम्तिको चाखलाग्दो छैन । पहिलो सिजन दुई खेलमात्र जितेको ‘कोशीको शान’ विराटनगरलाई दोस्रो सिजनका खेल सुरु हुनुअघि नै सम्भावित विजेताका रुपमा हेरिएको थियो ।

फाफ डुप्लेसी, मार्टिन गप्टिल र मर्चेन्ट डि ल्याग्नेलाई अनुबन्ध गरेर सामाजिक सञ्जालमा धुम मच्चाएको विराटनगरले पहिलो खेलदेखि नै उधुम मच्चायो । डु प्लेसी मैदानमा नउत्रँदै पहिलो खेलमै एनपीएलको हालसम्मकै उच्च स्कोर २२० रन बनायो ।

सोमबार डुप्लेसी नेपाल आइपुगेका छन् । अब विराटनगरका बाँकी खेलमा उनले ब्याटिङ गर्नेछन् ।

यस्तोमा विराटनगरका फ्यानको मनमा एउटै प्रश्न उठेको छ, के पहिलो सिजनको निराशाजनक प्रदर्शनलाई बिस्र्याउँदै विराटनगरले एनपीएल जित्ला ?

विराटनगरले यो सिजनमा खेलेका पाँच लिग म्याच मध्ये चारमा जित निकाल्दा चितवनसँग पराजय बेहोरेको छ । एनपीएलका आठ टिममध्ये कोशीको टिम अंक तालिकाको तेस्रो स्थानमा छ । हालसम्मको अंकगणित अनुसार विराटनगर प्लेअफ नजिक छ । अब लुम्बिनी र सुदुरपश्चिमसँग लिग म्याच खेल्न बाँकी छ । यीमध्ये एक खेलमात्र जिते विराटनगरको प्ले अफ यात्रा पक्का छ ।

स्टार क्रिकेटर सन्दीप लामिछानेको कप्तानीमा एनपीएलको पहिलो संस्करणमा मैदानमा उत्रिएको विराटनगर किंग्स गतवर्ष लिग चरणबाटै वाहिरिएको थियो । किंग्स गतवर्ष आठ टिम मध्ये छैठौं स्थानमा रहँदै घर फर्केको थियो ।

उत्पादनमुलक उद्योगमा लगानी गर्दै आएका औद्योगिक नगर विराटनगरका चार उद्यमीले यसपाली पनि फ्रेन्चाइज क्रिकेट मार्फत खेलकुद उद्यमलाई निरन्तरता दिएका छन् ।

गतवर्ष झण्डै १० करोड खर्चेर फ्रेन्चाइज क्रिकेटमा होमिदै खेल उद्यम र खेल पर्यटनमा आर्कषित भएका उनीहरु यसपाली पनि एनपीएलमा सहभागी भएका छन् ।

यस वर्ष पनि उनीहरुले गतवर्षको भन्दा झण्डै २० प्रतिशत बढी रकम खर्च गरेर क्रिकेट र खेल पर्यटनलाई निरन्तरता दिने उद्घोष गरेका छन् । टिमका लगानीकर्ता मध्यका एक सुयस प्याकुरेलले क्लिकमान्डुलाई भने, ‘यो अभियान हरेक वर्ष नियमित रहने छ ।’

यसपाली विराटनगर किंग्सको स्वरुपमा केही नयाँ अनुहार थपिएका छन । टिममा सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सूर्य तामाङ, नारायण जोशी, नरेन भट्ट, शंकर राना, सुवास भण्डारी, साहिल पटेल, श्रवण किस्कु, फाफ डु प्लेसी, मार्टिन गप्टिल, मच्र्यान्ट डी ल्याङ्गे, जर्ज मुन्सी, साम हिजलेट, शुभम रन्जने छन् ।

दक्षिण अफ्रिकाका स्टार खेलाडीद्वय फाफ डु प्लेसी र डी ल्याङ्गे तथा स्कटल्याण्डका मुन्सी टिमका नयाँ मुहार हुन । यो टोलीमा समावेश पाँच विदेशी खेलाडीको खरिद मूल्य न्यूनतम २० लाखदेखि ५० लाखसम्म परेको स्रोतको दाबी छ । तर, लगानीकर्ताले उनीहरुको खरिद मूल्य सार्वजनिक गरेका छैनन् । लगानीकर्ता मध्येका पारस लुनिया खेलाडीको मूल्य सार्वजनिक गर्न नमिल्ने बताउँछन् ।

गतवर्ष विराटनगर किंग्सले सन्दीप लामिछानेको कप्तानीमा न्यूजिल्यान्डका पूर्वविस्फोटक ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल, स्कटल्याण्डका क्रिस सोल, अफगानिस्तानका स्मात आलम, क्यानडाका निकोलस किर्तन, र ओमानका आकिव इलियाससहित नेपाली रैथाने खेलाडीलाई अक्सनमार्फत किनेर विराटनगर किंग्स फ्रेन्चाइज टिम तयार पारेको थियो ।

विराटनगर किंग्स विराटनगरका चार उद्योगी समूहको लगानी छ । क्बलको स्वामित्व म्याड स्पोट्र्स (एमएडी), एमएम ग्रुप, म्याजिक ग्रुप, अरिहन्त ग्रुप र देवनगरा ग्रुपसँग छ ।

यो अभियानमा नेपाली क्रिकेट टिमका पूर्वराष्ट्रिय खेलाडी पारस लुनिया, गल्फका एमेच्योर खेलाडी सुयस प्याकुरेल, अनुज पोद्दार, र बैंकटेश मुन्दाडा रहेका छन् । लुनिया अरिहन्त ग्रुप, प्याकुरेल एमएम ग्रुप, पोद्धार म्याजिक ग्रुप र मुन्दाडा देवनगरा ग्रुपका सञ्चालक हुन् ।

उद्यमी भन्नाले उद्योग व्यवसाय सञ्चालन तथा वस्तु तथा सेवा विक्रीवितरण गर्ने व्यक्ति भन्ने बुझिन्छ । तर, भारत लगायत दक्षिण एसियाली देशमा क्रिकेटले उद्यमी परिभाषा नै परिस्कृत गरिदिएको छ । क्रिकेट खेल ठूलो उद्योगका रुपमा विकास भइरहेको यो उपमहाद्विपमा खेल उद्यम प्रवद्र्धन गर्ने कान्छो मुलुक बनेर नेपाल विश्वसामु उदाएको छ । जसको प्रत्यक्ष उदाहरण हो, एनपीएलमा नेपाली उद्यमी प्रत्यक्ष लगानी र प्रायोजनरुपी सहभागिता । एनपीएलका ८ वटै फेन्चाइजी क्रिकेट टिममा विभिन्न उद्योगमा व्यस्त बन्ने व्यवसायी छन् ।

विशुद्ध व्यक्तिगत, पारिवारिक र समूहको मुनाफाका लागि उद्योग व्यवसायमा अर्बौं लगानी गर्दै आएका सुनसरी मोरङ औद्योगिक क्षेत्रका चार युवा उद्योगी गत वर्षदेखि फ्रेन्चाइज क्रिकेटमार्फत खेल पर्यटन र खेल उद्योगमा आकर्षित भएका हुन् ।

क्रिकेटको विकासका लागि गतवर्ष देखि करिब १० करोड लगानी गर्दै गाउँमा क्रिकेटको विकास गर्ने, पूर्वाधार निर्माणका लागि सरकारलाई दबाब दिने र राजनीति तथा विभिन्न समूहले विभक्त गरेको नेपाली समाजलाई क्रिकेटका माध्यमबाट एकतामा बाँध्ने उद्देश्य राखेका छन् ।

‘उद्योग र विभिन्न व्यवसायमा लगानी गर्दा नितान्त व्यक्तिगत रूपमा मुनाफा कमाउँदै आएका थियौं । गत वर्षदेखि फ्रेन्चाइजी क्रिकेटमार्फत खेल पर्यटन र खेल उद्योगमा लगानी गरेर मुलुकको क्रिकेटको विकास गर्ने उद्देश्य लिएका छौं,’ लगानीकर्तामध्येका एमएम औद्योगिक समूहका सञ्चालक प्याकुरेलले क्लिकमान्डुसँग भने, ‘खेल पर्यटन र खेल उद्योगमार्फत गाउँगाउँमा क्रिकेटका पूर्वाधार बनाउन सरकारलाई घचघच्याउन र राजनीति तथा केही समूहले विभाजन गरेको नेपाली समाजलाई एकतामा बाँध्न विराटनगरका चार युवा उद्योगीले फ्रेन्चाइज क्रिकेटलाई आधार बनाएका हौं ।’

हरेक जिल्ला र प्रदेशमा क्रिकेटका पूर्वाधार निर्माण हुनुपर्ने भन्दै प्याकुरेलले अब नेपाली क्रिकेटमा निजी क्षेत्रले प्रवेश गरेको र सरकारले अभिभावकको भूमिका खेले असम्भव भन्ने कुरा केही पनि नरहने तर्क गरे ।

निजी क्षेत्रले उद्योग र व्यवसाय सञ्चालन गर्दा हरेक पाइलामा सरकारको नीतिगत उल्झनको सामना गर्नुपरेको छ । क्रिकेट उद्योगमा पनि सरकारले र नेपाल क्रिकेट संघले नीतिगत उल्झन सिर्जना नगरे क्रिकेटको विकास टाढा नभएको व्यवसायीको भनाइ छ ।

‘उद्योग र व्यवसायमा लगानी गरेर जस्तो नाफा कमाइन्छ, क्रिकेटको लगानीमा त्यति धेरै नाफा छैन । त्यता हाम्रो ध्यान पनि छैन । क्रिकेटको विकास, पूर्वाधारको निर्माण र खेलेर बाँच्न सक्ने खेलाडीलाई आधार बनोस् । खेलको माध्यमबाट विभाजित समाज एक होस् भन्ने कामना बाहेक आर्थिक लाभको आकांक्षा छैन,’ प्याकुरेलले थपे ।

प्याकुरेलले सरकार अभिभावकको रूपमा प्रस्तुत भएर हरेक कदममा नीतिगत अल्झनहरू नदिए उद्योगीहरू खेल क्षेत्रमा हरेक वर्ष लगानी गर्न तयार रहेको बताए । तर सरकार नै खेल विकासको अल्झन भएको उनको बुझाई छ ।

दक्षिण अफ्रिकाका स्टार क्रिकेटर फाफ डुप्लेसी एनपीएल खेल्न काठमाडौं आइपुगेका छन् । उनी विराटनगर किंग्सको जर्सीमा बुधबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा देखिने छन् ।

बुधबार विराटनगरले आफनो छैठौं लिग खेल लुम्बिनी लायन्सविरुद्ध खेल्दै छ ।

चितवनसँग ४८ रनले पराजित भए तापनि जनकपुरलाई ९ रन, काठमाण्डू गोर्खाजलाई ५ विकेट, पोखरा एभन्जर्सलाई ५३ रन र कर्णाली याक्सलाई ३ विकेटले हराएको छ । विरानगर ८ अंक जोड्दै नेट रनरेटका हिसाबले तेस्रो स्थानमा छ । अंक तालिकामा सुदुरपश्चिम सतप्रतिशत जित निकाल्दै पहिलो स्थानमा छ भने ६ म्याच खेलेको काठमाण्डू दुई म्याच हारेपनि रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

डुप्लेसी आएपछि विराटनगरको ब्याटिङ लाइन झन् बलियो हुने प्रशिक्षक दीपेन्द्र चौधरीको भनाइ छ । फाफलाई न्यूजिल्यान्डका पूर्वविस्फोटक ओपनर मार्टिन गप्टिलले साथ दिनेछन् । चोटका कारण गुप्टिलले पछिल्ला दुई म्याच गुमाएका थिए।

चौधरीले डुप्लेसीको आगमनले टिमको ब्याटिङ लाइन चट्टान बन्ने अपेक्षा गरे । विराटरगर प्लेअफमा पुगे ती सबै म्याच डुप्लेसीले खेल्नेछन् ।

डुप्लेसी अबुधाबी टी–१० मा भिस्टा राइडर्ससँग अनुबन्धित खेलाडी हुन्  । नोभेम्बर १८ देखि ३० सम्म चलेको टी–१० प्रतियोगिता सकाएर उनी काठमाडौं आएका हुन् ।

डुप्लेसीले दक्षिण अफ्रिकाबाट ६९ टेस्ट, १ सय ४३ एक दिवसीय र ५० टि–ट्वान्टी खेल खेलेका छन् ।  टि–ट्वान्टीमा ३५.५३ को औसतमा १ हजार ५ सय २८ रन बनाएका उनी सफल अन्तर्राष्ट्रिय खेलाडीका रुपमा गनिएका हुन् ।