व्यवसायीले तोके अण्डाको मूल्य, ठूलो साइजको प्रति क्यारेटलाई ५६० रुपैयाँ

105
Shares

चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

संघका अध्यक्ष बिनोद पोखरेलका अनुसार आजदेखि लागू हुनेगरी न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्ने गरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ ।

किसानको फार्म लागतलाई आधार मानेर जारी गरिएको मूल्यसूचीअनुसार यसको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नयाँ दरअनुसार अति ठूलो (एक्स एल) अण्डा प्रतिक्रेट (३० वटा) ५६०, ठूलो अण्डा ५४५, मिडियम अण्डा ५३० र सानो अण्डा प्रतिपेटी ३५० रुपैयाँ रहेको छ ।

अध्यक्ष पोखरेलका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट ४० ले वृद्धि भएको हो ।

भारतमा निर्वाचनका कारण सिमानामा कडाइ बढ्दा त्यहाँको अण्डा महँगो भएको र अवैध रूपमा नेपाल आउने मार्ग बन्द भएपछि नेपाली अण्डाले उचित मूल्य पाएको बताए । उनका अनुसार जाडो महिनामा अण्डाको खपत स्वभाविक रूपमा बढ्ने गर्छ ।

पोखरेलले भने, ‘चिसोमा अण्डा खानुपर्छ भन्ने जनचेतना बढेकाले माग पनि बढेको छ ।’

गत साउनमा पनि ५६० नै मूल्य पुगेको अण्डा त्यसपछि क्रमशः घट्दै गएको थियो । हाल फेरि क्रमशः वृद्धि हुँदै किसानले लागत उठाउन सक्ने अवस्थामा पुगेको सङ्घले जनाएको छ ।

चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ ।