
एजेन्सी । केन्या सरकार र दुई चिनियाँ सरकारी कम्पनीहरूले करिब १.५ अर्ब डलर लागतको राजमार्ग विस्तार परियोजनाको निर्माण कार्य शुक्रबारबाट थाल्ने भएका छन् ।
यसले पूर्वी अफ्रिकाको उदीयमान अर्थतन्त्रमा वर्षौंको विरामपछि ठूला पूर्वाधार विकासमा चीन पुनः लाग्न थालेको संकेत गर्छ ।
दुई चरणमा विभाजित यस परियोजनालाई ऋण र इक्विटीको मिश्रणमार्फत साझेदारहरूले वित्तीय व्यवस्था गर्नेछन् । चीनको परम्परागत ऋण मोडलले मुलुकहरूलाई ऋण पासोमा पारेको चिन्ता व्यक्त गरिएपछि नयाँ मोडल अपनाइएको छ ।
‘हामीसँग अझै ऋण लिन कुनै ठाउँ बाँकी छैन,’ केन्याको अर्थ मन्त्रालय अन्तर्गत सरकारी तथा निजी साझेदारी निर्देशकालयका महानिर्देशक केफा सेडाले औपचारिक उद्घाटनअगाडि रोयटर्स समाचार संस्थालाई बताए ।
यस परियोजनाले मम्बासाको बन्दरगाहलाई केन्याको पश्चिमी क्षेत्र तथा युगान्डाजस्ता छिमेकी भूपरिवेष्ठित राष्ट्रहरूसँग नैरोबी हुँदै जोड्ने महत्त्वपूर्ण यातायात मार्गलाई सुधार गर्नेछ ।
अर्बौं डलर पूर्वाधारमा लगानी गरेपछि चीनले सन् २०१९ तिर अफ्रिकामा ऋण दिन कटौती गरेको थियो किनकि केन्याजस्ता मुलुकहरूमा ऋणको दिगोपनका विषयमा चिन्ता बढ्दै गएको थियो ।
तर, बेइजिङले गत वर्ष अफ्रिकी नेताहरूसँगको शिखर सम्मेलनमा तीन वर्षभित्र ५० अर्ब डलर क्रेडिट र लगानी दिने वाचा गरेको थियो । त्यसमार्फत अफ्रिकी महादेशमा चीन आफ्नो भूमिका नयाँ रूपमा स्थापित गर्ने प्रयास गरिरहेको देखाउँछ ।
यसअघि, फ्रान्सको भिन्सी एसए नेतृत्वको समूहसँगको राजमार्ग विस्तार परियोजना सम्बन्धी सम्झौता केन्याले यसै वर्ष रद्द गरिसकेको थियो ।
नयाँ सम्झौता केन्याका राष्ट्रपति विलियम रुटुले अप्रिल महिनामा गरेको बेइजिङ भ्रमणका क्रममा घोषणा भएको हो ।
केन्या अमेरिकाको सबैभन्दा घनिष्ठ अफ्रिकी सहयोगीमध्ये एक मानिन्छ । नैरोबी र बेइजिङबीचको यो नजिकिँदो सम्बन्धले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई रुष्ट बनाएको छ । त्यसपछि रुटुले रणनीतिको सार्वजनिक बचाउ गर्दै केन्यालाई चीनजस्ता बजारमा निर्यात बढाउन आवश्यक रहेको बताए ।
राजमार्ग परियोजनाको एक चरणको लागत ८६ करोड ३० लाख डलर हुने बताइएको छ । त्यसअनुसार चाइना रोड एन्ड ब्रिज कर्पोरेशनले केन्याको सरकारी पेन्सन कोष एनएसएसएफसँगको साझेदारीमा १३९ किलोमिटर लामो एक–लेन राजमार्गका दुई खण्डलाई चार तथा ६ लेनका डुअल क्यारिजवेमा विस्तार गर्नेछ ।
दोस्रो चरणमा चीनकै शान्डोङ हाई–स्पीड समूहको सहायक कम्पनी शान्डोङ हाई–स्पीड रोड एन्ड ब्रिज इन्टरनेशनलले ९४ किलोमिटर लामो एक–लेन राजमार्गलाई करिब ६७ करोड ८५ लाख डलर लागतमा ६ लेनमा विस्तार गर्नेछ ।
दुवै लागत अनुमानमा वित्तीय लागतहरू समावेश छन् ।
दुवै परियोजना ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटीमा आधारित रहनेछन् । एनएसएसएफले आफू संलग्न चरणको इक्विटीमध्ये ४५ प्रतिशत योगदान गर्नेछ ।
ऋण चिनियाँ वाणिज्यिक बैंकहरू वा चीनको एक्जिम बैंकजस्ता राज्य संस्थाबाट आउने सम्भावना छ, सेडाले बताए।
कम्पनीहरूले २०२७ अन्त्यसम्म निर्माण पूरा गर्नुपर्नेछ। त्यसपछि २८ वर्षसम्म टोल संकलन गरी लगानी फिर्ता लिन र नाफा कमाउन पाउने व्यवस्था हुनेछ।








प्रतिक्रिया