एमाले सुनसरीका सदस्य कुटिए

315
Shares

सुनसरी । एमालेमा यतिबेला महाधिवेशन प्रतिनिधि छनोटमा केन्द्रित छ । यसैबीच, पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरी जिल्ला कमिटी सदस्य अनिल राजधामीमाथि पार्टीकै अर्को समूहले गरेको कुटपिटको घटना सार्वजनिक भएपछि विवाद थप चर्किएको छ ।

बिहीबार बेलुका धरान–१० नजिक रहेको एमाले कार्यालय आसपास युवा संघ कोशी इञ्चार्ज दिवस राई, वडाध्यक्ष विवेक राईलगायतको समूहले राजधामीमाथि हमला गरेको आरोप छ । कुटपिटपछि अन्य कार्यकर्ताले उनलाई उद्धार गरी विजयपुर अस्पताल पुर्‍याएका थिए। उपचारपछि राजधामी डिस्चार्ज भएका छन् ।

महाधिवेशनमा युवातर्फ प्रतिनिधिका लागि राजधामी र दिवस दुवैले उम्मेदवारी दिएपछि संगठनभित्र प्रतिस्पर्धा तीव्र बन्दै गएको थियो।

दिवस राईले घटना ‘सामान्य धकेलाधकेल’ मात्रै भएको दाबी गरे पनि राजधामीले आफू योजनाबद्ध रूपमा लक्षित आक्रमणमा परिएको र दिवस–विवेक पक्षको समूहले अनुहारमै गम्भीर चोट पुर्‍याउने गरी कुटपिट गरेको आरोप लगाएका छन् ।

धरानमा दिउँसै भएको यस कुटपिट घटनाले एमालेभित्रको एकता–अन्तरद्वन्द्व सतहमा झनै प्रस्ट रूपमा देखिएको पार्टीभित्रका नेताहरूको टिप्पणी छ । महाधिवेशन प्रतिनिधि छनोटजस्तो संवेदनशील प्रक्रियामा हिंसा भड्किनुले शीर्ष नेतृत्वको भूमिका र नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठेको छ । विवाद चर्किन नदिई समाधान खोज्न अहिले जिल्ला र प्रदेशस्तरका नेताहरू दुवै पक्षलाई मिलाउने प्रयासमा जुटेका छन् ।