
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत २३ र २४ भदौमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताएका छन् ।
बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री अयर्नलले हालसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ थान हतियार बरामद गरिएको छ ।
उनले जेन–जी आन्दोलनका क्रममा जेल ब्रेक गरी भागेका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइएको पनि बताए ।
बाँकी ४ हजार ८सय ५७ फरार कैदीको खोजीका लागि विशेष अपरेशन प्रक्रिया जारी रहेको उनले बताए । जेनजी आन्दोलनको क्रममा अपराधिक घटनामा संलग्न ५ सय ९५ जनालाई पक्राउ गरिएकोमा २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको पनि उनले जानकारी दिए ।
उनले आगामी आम निर्वाचनमा सुरक्षाका लागि सेना परिचालन सम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भइसकेको जानकारी समेत गराए । सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन हुँदै आएको पनि उनले बताए ।
सुरक्षा निकायहरुको सुदृढीकरणका लागि आवश्यक उपकरण र सवारी साधन किन्न स्रोत सुनिश्चित गरिएको बताउँदै उनले नेपाल प्रहरीका लागि २ सय ६२ सवारी, सशस्त्र प्रहरीका लागि १ सय ९९ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ सवारी खरिद प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे ।
गृहमन्त्रीले यसो भने
हराएका हातहतियार तथा खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरुले सूचना आदानप्रदान गरी कार्ययोजना बनाइ संयुक्त रुपमा प्रभावकारी ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिई कार्यान्वयन गरिएको छ । हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइएको छ । जेन–जी आन्दोलनको क्रममा कारागार तथा बन्दीगृहबाट भागेका तथा फरार भएका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइसकिएको छ । बाँकी ४ हजार ८ सय ५७ जनालाई फिर्ता ल्याउन विषेश अपरेशन सञ्चालन गरिएको छ ।
भाद्र २३ र २४ गतेको घट्नासँग सम्बन्धीत अपराधमा संलग्नमध्ये कुल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको अवस्था छ । अगामी निर्वाचन प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेना परिचालनको लागि सेना परिचालन गर्न लेखि पठाइ राष्ट्रि सुरक्षा परिषद्बाट निर्णय समेत भइसकेको अवस्था छ ।
जिल्लागत र प्रदेशगत सुरक्षा चुनौती तथा अवस्थाको जानकारीका साथै सुरक्षा तयारीका लागि सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने, केन्द्रीय सुरक्षा समितिको निर्णयबमोजिम लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न समेत भइसकेको छ । बाँकी प्रदेशहरुमा पनि पुसभित्र सम्पन्न गर्नेगरी तयारी भइरहेको अवस्था छ ।
निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढिकरणको लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट १ सय ५६ वटा र थप बजेटबाट १ सय ६ वटा गरी कुल २ सय ६२ थान सवारी तथा सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ र थप बजेटबाट ५० वटा गरी कुल १ सय ९ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप ६ वटा सवारी खरिदको लाग स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको छ ।







प्रतिक्रिया