चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु

63
Shares

एजेन्सी । चीनको दक्षिणपश्चिम भागमा बिहीबार एक रेलले रेलमार्गमा काम गरिरहेका मजदुरलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको स्थानीय रेल अधिकारीहरूले बताएका छन् ।

यो घटना युनान प्रान्तमा भएको हो । भूकम्पसम्बन्धी उपकरण परीक्षणका लागि प्रयोग भइरहेको रेलले बिहानै कुनमिङको लुओयाङ टाउन स्टेशनमा निर्माण मजदुरलाई ठक्कर दिएको हो । त्यसमा ११ जनाको मृत्यु र २ जना घाइते भएको कुनमिङ रेलवे ब्युरोले विज्ञप्ति जारी गरेर जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘रेल कुनमिङ लुओयाङ टाउन स्टेशनभित्रको घुम्ती हुँदै सामान्य रूपमा गुडिरहेकै बेला ट्य्राक क्षेत्रमा प्रवेश गरेका निर्माण मजदुरसँग ठोक्कियो ।’

दुर्घटनाको कारणबारे छानबिन भइरहेको अधिकारीहरूले बताएका छन् ।

बिहीबार दिउँसोसम्म यातायात सामान्य अवस्थामा फर्किएको र घाइतेहरूको उपचार चलिरहेको पनि जनाइएको छ ।

चीनमा सुरक्षा मापदण्ड कमजोर भएकाले यस्ता औद्योगिक दुर्घटनाहरू सामान्य मानिन्छन् ।

Skip This