चीनलाई नचिढ्याउन ट्रम्पले गरे जापानकी प्रधानमन्त्रीलाई आग्रह

280
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसै हप्ता गरेको फोनवार्ताका क्रममा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीलाई चीनसँगको विवादलाई थप नबढाउन आग्रह गरेका छन् ।

ताकाइचीले नोभेम्बर महिनाको आरम्भमा चीनले ताइवानमाथि आक्रमण गरेमा जापानले सैन्य कदम चाल्न सक्ने भनी संसदमा बताएकी थिइन् । उनको यस टिप्पणीले चीनसँग कूटनीतिक तनाव उत्पन्न गरेको छ ।

गत मंगलबार अर्थात् नोभेम्बर २५ मा ट्रम्प र ताकाइचीबीचको फोनवार्ता भएको हो । ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीचको फोनवार्तापछि उक्त कुराकानी भएको हो ।

सीले ताइवानलाई चीनसँग पुनरेकीकरण गर्ने कुरा मौजुदा विश्व व्यवस्थासम्बन्धी बेइजिङको दृष्टिकोणको महत्त्वपूर्ण हिस्सा भएको ट्रम्पलाई बताएका थिए ।

चीन लोकतान्त्रिक रूपमा सञ्चालित ताइवानलाई आफ्नो अभिन्न भूभाग भएको दाबी गर्छ । ताइवानलाई आफूमा मिसाउनका लागि बल प्रयोग गर्न सकिने उसले संकेत गरेको छ । ताइवानको सरकारले भने बेइजिङको दाबी अस्वीकार गर्दै आफ्नो भविष्य ताइवानी जनताले मात्र निर्धारण गर्ने बताउँदै आएको छ ।

ट्रम्पले ताकाइचीलाई विवाद घटाउन गरेको आग्रहबारे द वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको हो ।

‘चीनसँग अमेरिकाको सम्बन्ध धेरै राम्रो छ र हाम्रो निकट सहयोगी जापानका लागि पनि यो राम्रो स्थिति हो,’ ह्वाइट हाउसले जनाएको छ ।

जापानको प्रधानमन्त्री कार्यालयले यस विषयमा सोधिएको प्रश्नलाई वार्ताको पहिले सार्वजनिक गरिएको औपचारिक विवरणतर्फ फर्काएको छ । त्यसमा दुवै नेताहरूले अमेरिका–चीन सम्बन्धबारे छलफल गरेको मात्र उल्लेख छ ।

Skip This