
एजेन्सी । हङकङको न्यू टेरिटोरीजमा बुधबार लागेको भीषण आगो रातभरि फैलिँदै जाँदा एक दशकयताकै सबैभन्दा घातक दुर्घटना बनेको छ ।
त्यसमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
३२ तले भवनमा उद्धारकार्यमा खटिएका ३७ वर्षीय दमकलकर्मी पनि मारिएका छन् । बिहीबार बिहानसम्म उक्त भवनमा बस्ने २७९ जनाको स्थिति अज्ञात छ र उद्धार टोलीहरूले जीवित व्यक्तिहरूलाई अग्लो भवनबाट निकालिरहेका छन् ।
आगो ताई पो जिल्लाको वाङ फुक कोर्ट नामक आवासीय क्षेत्रबाट फैलिन थालेको थियो । प्रहरीले बुधबार दिउँसो तीनजनालाई भवितव्य ज्यान मुद्दाको आरोपमा पक्राउ गरेको छ । बिहीबार बिहानसम्म पनि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थिएन ।
हङकङको यो आगो वाङ फुक कोर्टका आठमध्ये सात आवासीय ब्लकमा फैलिएको थियो । त्यसले सयौं मानिसलाई भवनबाट भाग्न बाध्य बनायो ।
झ्यालबाट बाक्लो धूवाँ र आगो निस्किएको देखिन्थ्यो । अधिकारीहरूका अनुसार, ४० जनाको मृत्यु घटनास्थलमै भएको पुष्टि भयो । कम्तीमा ६२ जना घाइते भए । तीमध्ये धेरैजना डढेर वा धूवाँको कारण घाइते भएका थिए ।
बाहिरी पर्खालमा प्रयोग गरिएको सामग्री (स्काफोल्डिङ) मा आवश्यक अग्निप्रतिरोधक मापदण्ड पूरा नभएकाले असामान्य रूपमा आगो छिटो फैलिएको हुनसक्ने बताइएको छ । अनुसन्धानकर्मीहरूले आगो नफैलेको ब्लकमा लिफ्ट नजिक झ्यालबाहिर सजिलै बल्ने स्टाइरोफोम भेटेका थिए । निर्माण कम्पनीले त्यसलाई जडान गरेको सम्भावना छ ।
‘हामीलाई कम्पनीका जिम्मेवार व्यक्तिहरूबाट गम्भीर लापरवाही भएको शंका छ,’ वरिष्ठ प्रहरी अधीक्षक इलिन चुङले एपी समाचार संस्थालाई भनेकी थिइन् । पक्राउ परेकाहरू ५२ देखि ६८ वर्ष उमेरका छन् । तिनमा दुई कम्पनी निर्देशक र एक इन्जिनियरिङ परामर्शदाता छन् ।
बिहीबार बिहानसम्म चारवटा टावरमा आगो नियन्त्रण हुँदै गएको बताइएको छ । अधिकारीहरूले आगो ३२ तले भवनको बाहिरी बाँसबाट सुरु भई भित्र पस्दा र हावा चलेकाले नजिकका ब्लकहरूमा फैलिन मद्दत गरेको अनुमान गरेका छन् ।
चीनका राष्ट्रपति सी चिनपिङले रेडक्रसका आपतकालीन कार्यहरूलाई सहयोग गर्न २० लाख युआन सहयोगको घोषणा गरेका छन् । चीनको रेडक्रस सोसाइटीका अनुसार, यो रकम उद्धार र मानवीय सहायतामा खर्च गरिनेछ । आवश्यकता अनुसार थप सहयोग पनि दिइनेछ ।
सीले यस दुर्घटनाबाट प्रभावित भएकाहरूप्रति समवेदना व्यक्त गर्दै हङकङका अधिकारी तथा केन्द्रका प्रतिनिधिहरूलाई सबै प्रयास गर्न र मानवीय क्षति कम गर्न सकेसम्म धेरै सहयोग गर्न निर्देशन दिएका छन् ।








प्रतिक्रिया