नेपालदेखि पेरु र मादगास्कारसम्म जेनजीको आन्दोलन, के भयो उपलब्धि ?

70
Shares

एजेन्सी । नेपालदेखि पेरु, मोरोक्को र मादगास्कारसम्म संसारभरका जेनजी युवाहरू विरोध प्रदर्शन गर्दै सडकमा आए ।

परालको टोपी लगाएको खोपडी र हड्डीको चित्र अंकित झण्डा बोक्दै उनीहरूले शासकलाई टक्कर दिए । दुई देशमा त सरकार नै ढल्यो ।

सामान्यतया सन् १९९७ देखि २०१२ सम्म जन्मेका पुस्तालाई जनाउन प्रयोग हुने जेनजी शब्द यो वर्ष बेरोजगारी, गरिबी र असमानताप्रति आक्रोशित युवाहरूले नेतृत्व गरेका विद्रोहहरूसँग जोडिन पुग्यो ।

दक्षिण अमेरिका, एसिया र अफ्रिकाका देशमा युवाहरू सडकमा आए र सरकारहरूलाई हल्लाए । संयुक्त राष्ट्रसंघका अनुसार, यी क्षेत्रहरूमा २५ वर्षभन्दा तलको जनसंख्या ६० प्रतिशत छ ।

एएफपीका पत्रकारहरूले जापानी मांगा वन पिसबाट लिइएको समुद्री डाँकुजस्तो चिह्न दर्जनभन्दा बढी देशका प्रदर्शनहरूमा देखे ।

मादगास्कार र नेपालमा यही प्रदर्शनका कारण सरकारहरू ढले ।

‘म वन पिस हेर्दै हुर्किएँ । म जस्तै धेरैजसो जेनजीले त्यो हेरेका छौं । त्यसैले यो हाम्रो प्रतीक बन्यो,’ मादगास्कारका २६ वर्षीय एक प्रदर्शनकारी काइले भने । उनले आफ्नो पूर्ण नाम खुलाउन चाहेनन् ।

यो चिह्न दमनकारी सरकारविरुद्धको प्रतिरोध जनाउने प्रतीक बनेको उनले बताए ।

यसअघि पनि युवाहरूले नेतृत्व गरेका आन्दोलनहरू थिए । जस्तै, सन् २०११ मा स्पेनमा सुरु भएको ‘इन्डिग्नाडोस’ आन्दोलन र सन् २०१० मा सुरु भएका अरब स्प्रिङ ।

तर, जेनजी आन्दोलन फरक थियो । मोन्ट्रियल विश्वविद्यालयकी समाजशास्त्री सेसिल भान डे भेल्डेले भनिन्, ‘यसले डिस्कर्ड, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गरेर वास्तविक समयमा युवाहरूलाई जोड्यो । पछि समाजका अन्य समूहहरूलाई पनि सडकमा ल्यायो ।’

उनका अनुसार, यो आन्दोलन स्थानीय मुद्दाभन्दा बाहिर गएर वैश्विक र पुस्तागत विद्रोहको नयाँ अनुहार बन्न चाहन्थ्यो ।

मादगास्कारमा भएको जेनजी विद्रोह नेपालमा भदौमा भएका प्रदर्शनपछि देखिएको हो ।

‘नेपालले बाटो खोलिदियो । हामीले त्यहाँ के भयो, कसरी झण्डा उठाइयो, ‘वन पिस’सँग जोडिएको त्यो प्रतीक देख्यौं,’ मादगास्कार आन्दोलनका प्रवक्ता एलिएट रान्द्रियामेन्द्रातोले एएफपीलाई बताए, ‘र हामीले भन्यौं– अब पुग्यो ।’

हरेक देशमा आन्दोलनको चुरो भने स्थानीय समस्याअनुसार फरक थियो । इन्डोनेसियामा तलब, बेरोजगारी र प्रहरी हिंसा मुख्य मुद्दा थिए । नेपालमा उच्चस्तरीय भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्धले विद्रोहको ठाउँ बनायो ।

मादगास्कारमा वर्षौंदेखि पानी र बिजुलीका समस्या पहिलो कारण बने । मोरोक्कोमा शिक्षा र स्वास्थ्यमा असमानता, केन्यामा नयाँ करहरूको विरोध ।

‘युवाहरू आफ्नो समुदायका आधारभूत आवश्यकतालाई जोगाउन उठेका हुन् । स्वास्थ्य, सुरक्षा, राजनीतिक प्रतिनिधित्व जस्ता कुरामा पछि पर्न नचाहने मनसायले उनीहरू आन्दोलन गर्न थालेका हुन्,’ भान डे भेल्डेले भनिन् ।

‘यी स्थानीय मागहरूले सरकार र तिनलाई नियन्त्रित गर्ने आर्थिक–राजनीतिक अभिजात वर्गको अख्तियार दुरुपयोगविरुद्धको साझा आवाजको प्रतिनिधित्व गर्छन् ।’

वर्षको अन्त्यतिर विद्रोहहरू शान्त हुँदै जाँदा परिणाम युवाहरूका लागि मिश्रित रहे ।

मादगास्कारमा राष्ट्रपति देश छोडेपछि सेना सत्तामा आयो । तर, सेनाले बनाएको सरकार ज्यादै पुराना र अतिपरिचित राजनीतिक व्यक्तिहरूले भरिएको थियो । त्यसले जेनजी समूहलाई निराश बनायो ।

नेपालमा भने डिस्कर्डमार्फत भएको भोटिङपछि अन्तरिम प्रधानमन्त्री नियुक्त भएकी छन् । उनले हिंसात्मक घटनामा मारिएका दर्जनौं युवाहरूको मृत्युबारे सत्य उजागर गर्न एक आयोग गठन गरेकी छन् ।

मोरोक्कोमा प्रदर्शनकारीहरूले शिक्षा र स्वास्थ्य सुधारका केही आश्वासन पाए । तर, अक्टोबरसम्म आइपुग्दा २४ सयभन्दा बढी मानिस, जसमध्ये १४ सयभन्दा बढी जेलमै थिए, माथि मुद्दा चलाइँदै थियो ।

यी आन्दोलनहरू स्वतःस्फूर्त, खुला र नेतृत्वविहीन संरचनामा चलेको हुँदा प्रारम्भिक मागभन्दा टाढा जाने दीर्घकालीन राजनीतिक परियोजनामा रूपान्तरण हुन सकेनन् ।

धेरै देशमा युवाहरूले कठोर र हिंसात्मक दमन पनि बेहोर्नुपर्‍यो ।

नेपालमा एक प्रदर्शनकारी युजन राजभण्डारीले आफूहरू आन्दोलनको दोस्रो चरणमा रहेको बताए । फागुनमा हुने चुनावलाई उनले संकेत गरेका हुन् ।

भ्रष्टाचारविरुद्ध अभियान जारी राख्दै अब उनीहरूले मतदाता दर्ताबारे जनचेतना बढाइरहेको राजभण्डारीले बताए ।
‘हामी रोकिँदैनौं,’ उनले भने ।

Skip This