ताइवानमा विदेशी हस्तक्षेपलाई चकनाचुर बनाइदिने चीनको चेतावनी

161
Shares

एजेन्सी । ताइवानका विषयमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि प्रयासलाई चकनाचुर बनाइदिने भन्दै चीनले कडा चेतावनी दिएको छ ।

जापानले ताइवान नजिकैको एक टापुमा क्षेप्यास्त्र तैनाथ गर्ने योजना घोषणा गरेपछि चीनको बयान आएको हो ।

‘हामीसँग राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउने दृढ इच्छाशक्ति, बलियो संकल्प र उम्दा क्षमता छ,’ चीनको ताइवान मामिला कार्यालयका प्रवक्ता पङ छिङएनले नियमित पत्रकार सम्मेलनमा बताए । जापानको मिसाइल तैनाथीबारे उठेको प्रश्नको जवाफ दिने क्रममा उनले सबै विदेशी हस्तक्षेपलाई कुल्चिदिने बताए ।

बेइजिङले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्छ र त्यसलाई कब्जा गर्न बल प्रयोग नगर्ने कुरा अस्वीकार गरेको छैन ।

ताइवान सरकारले भने बेइजिङको दाबी अस्वीकार गर्दै ताइवानको भविष्य ताइवानका जनताले मात्र तय गर्न सक्ने बताउने गरेको छ ।

‘जापानले चीनको ताइवान क्षेत्र नजिकै आक्रामक हतियार तैनाथ गर्ने निर्णय अत्यन्तै खतरनाक छ,’ पङले भने, ‘यसले जानाजान क्षेत्रीय तनाव बढाइरहेको र सैनिक टकराव उक्साइरहेको छ ।’

Skip This