
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नोभेम्बर महिनामै अमेरिकाको भ्रमण गर्ने युक्रेनका राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमेरोभले बताएका छन् ।
त्यहाँ उनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गर्ने र शान्ति सम्झौताको महत्त्वपूर्ण चरणहरूलाई अन्तिम रूप दिने अपेक्षा छ ।
जेलेन्स्की यसै साता अमेरिका पुग्न सक्ने र ट्रम्पसँग शान्ति प्रयासबारे छलफल गर्न सक्ने भनी अमेरिकी सञ्चारमाध्यममा रिपोर्टहरू आएपछि यो बयान आएको हो ।
‘हामी यथाशीघ्र सम्भावित मितिमा युक्रेनी राष्ट्रपति अमेरिकाको भ्रमण होस् भन्ने अपेक्षा गर्छौं,’ उमेरोभले सामाजिक सञ्जालमा लेखे, ‘त्यसले शान्ति सम्झौताको अन्तिम चरण पूरा गर्नेछ र राष्ट्रपति ट्रम्पसँग सम्झौता हुनेछ ।’
पहिलो चरणमा २८ बुँदा रहेको प्रस्ताव नोभेम्बर २३ मा जेनेभामा भएको युक्रेन–अमेरिका छलफलपछि घटाएर १९ बुँदामा सीमित गरिएको बताइएको छ ।
स्विट्जरल्यान्डमा भएका वार्तापछि जेलेन्स्कीले शान्ति योजनाका बुँदाहरू घटाइएको पुष्टि गर्दै संशोधित संस्करण युक्रेनका आवश्यकतासँग मिल्दोजुल्दो भएको बताए । उनले संवेदनशील मुद्दाहरूमा ट्रम्पसँग प्रत्यक्ष छलफल गरिने बताए ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र युक्रेनका राष्ट्रपति कार्यालयका प्रमुख सहयोगी आन्द्री यरमाकको नेतृत्वमा रहेका अमेरिकी र युक्रेनी प्रतिनिधिमण्डलले सुरुआती परामर्शलाई सकारात्मक भनेका छन् । अद्यावधिक तथा परिमार्जित शान्ति फ्रेमवर्कमा काम जारी राखिने उनको भनाइ छ । तर, त्यसको विवरण सार्वजनिक गरिएको छैन ।
सुरुआती शान्ति योजनाले युरोपेली साझेदारहरू र अमेरिकी सांसदहरूबीच कडा विरोध निम्त्याएको थियो किनकि यसले युक्रेनलाई धेरै कुरा त्याग्न दबाब दिएको थियो । रुसलाई पूरा डोनबास क्षेत्र हस्तान्तरण गर्ने, सेना ६ लाखमा सीमित गर्ने र नेटो सदस्यताको आकांक्षा त्याग्ने जस्ता बुँदा त्यसमा समावेश गरिएका छन् ।
ट्रम्पले सुरुमा युक्रेनले यो योजना नोभेम्बर २७ (थ्याङ्क्सगिभिङ) सम्ममा स्वीकृत गर्ने अपेक्षा गरेको बताए पनि पछि रुबियोले समयसीमा बढ्न सक्ने र वार्ता जारी रहेकाले कागजात अझै परिवर्तन हुनसक्ने संकेत दिए ।
नोभेम्बर २३ मा ट्रम्पले अमेरिका–युक्रेन शान्ति प्रयासप्रति युक्रेनले कृतज्ञता नदेखाएको भन्दै आलोचना गरेका थिए । तर, भोलिपल्टै उनको स्वर केही नरम भयो र वार्तामा प्रगतिको संकेत मिलिरहेको जस्तो टिप्पणी गरे ।
जेलेन्स्कीले युक्रेन अहिले अमेरिका तथा अन्य साझेदारहरूसँग समन्वय गरिरहेको र अन्तिम योजनामा रहेका अत्यन्त संवेदनशील मुद्दाहरूका आधारमा बन्दी साटासाट तथा रुसले अपहरण गरेका युक्रेनी बालबालिकाको फिर्तीलाई समावेश गराउने प्रयास भइरहेको बताए ।








प्रतिक्रिया