
काठमाडौं । सिंहदरबारमा प्रवेश गर्न प्रयास गरेका ‘जेनजी’ समूहका युवालाई मंगलबार प्रहरीले रोकेको छ । लगातार दोस्रो दिन उनीहरू सिंहदरबारभित्र मागपत्र बुझाउन पुगे पनि सुरक्षार्थ खटिएको प्रहरीले प्रवेश निषेध गर्दै समूहलाई अनामनगरतिर धपाएको हो।
मंगलबार बिहान मिराज ढुंगाना नेतृत्वको जेनजी टोली सिंहदरबार गेटमा पुगेपछि प्रहरीसँग धकेलाधकेल समेत भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवनकुमार भट्टराईका अनुसार निषेधित क्षेत्रतर्फ जबरजस्ती प्रवेश गर्न खोजेकाले नियन्त्रणका लागि समूहलाई त्यहाँबाट हटाइएको हो । प्रहरीले अनामनगरको पुल हुँदै भाटभटेनी क्षेत्रसम्मै युवाहरूलाई पछाडि धकेलेर हटाएको बताइएको छ ।
यसअघि सोमबार पनि २१ वटा जेनजी समूह सिंहदरबार पुगेका थिए। भित्र छिर्न नदिएपछि उनीहरूले दक्षिण गेटमै मागपत्र टाँसेर फर्किएका थिए । प्रवेश रोकिएपछि आजको समूहले प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध नाराबाजी गरेको छ । उनीहरूले सरकारले प्रहरी परिचालन गरेर युवाहरूको आवाज दबाएको आरोप लगाएका छन् ।

युवाहरूले आफूहरूको विद्रोह ०८४ सालको निर्वाचन ०८२ सालमा गर्न मात्र नभई परिवर्तनका लागि भएको दाबी गर्दै ‘घाइते तथा शहीदको सपना साकार पार्न कार्की सरकार असमर्थ देखिएको’ टिप्पणी गरेका छन्।








प्रतिक्रिया