
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनमा पार्टी अध्यक्ष पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन् ।
पोखरेलले पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता–कार्यकर्ताले गरेका आग्रह तथा सुझावलाई स्वीकारेर उम्मेदवारी दिने निर्णयमा पुगेको स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी वितरण गर्दै सामूहिक नेतृत्वमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न प्रतिबद्ध छु ।’
मंसिर १३ गते देश तथा प्रवासमा एमाले महाधिवेशनका प्रतिनिधि चयन हुँदैछन् । प्रतिनिधि छनोट प्रक्रियामा विवेकपूर्ण, मर्यादित र निर्भय सहभागिताका लागि उनले पार्टी सदस्यहरूलाई आह्वान गरेका छन् ।
पार्टीमा आफूलाई रोक्न खोजिएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि पोखरेललाई अघि सारेको बताइँदै आएको छ । यद्यपि उनले अहिलेसम्म लिखित वक्तव्यमार्फत मात्र अभियान अघि बढाएका छन् । महाधिवेशन प्रतिनिधि छनोटपछि औपचारिक प्यानल घोषणा गर्ने तयारी छ ।
पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक लोकतन्त्रका मान्यतालाई सम्मान गर्दै नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरेका छन् । उनले ओलीलाई अभिभावकीय भूमिकामार्फत सहज निकास बनाउन आग्रहसमेत गरेका छन्।
तर पार्टी अध्यक्ष ओली भने मंसिरको अन्तिम सातामा हुने एघारौं महाधिवेशनबाट नेतृत्व नछाड्ने बताइसकेका छन् ।
तेस्रोपटक अध्यक्ष बन्न पार्टी विधान संशोधन गरिसकेका ओलीलाई जेनजी आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिले नेतृत्व हस्तान्तरण गर्नैपर्ने दबाब बढेको छ।










प्रतिक्रिया