
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार अयोध्यास्थित श्रीराम जन्मभूमि मन्दिरको शिखरमा केसरी धर्मध्वज फहराएका छन् । यसले राम मन्दिर निर्माणपछिको एक महत्त्वपूर्ण चरणको संकेत गर्दछ ।
कार्यक्रममा राज्यपाल आनन्दीबेन पटेल, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ तथा राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा मोहन भागवत लगायतका विशिष्ट व्यक्तिहरू उपस्थित थिए ।
ध्वजारोहण उत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यो क्षण भारत राष्ट्रको सांस्कृतिक र सामाजिक परिदृश्यका लागि अत्यन्तै महत्त्वपूर्ण भएको बताए ।
‘आज पूरा भारत र पूरा विश्व भगवान् श्रीरामको भावनाले ओतप्रोत भएको छ,’ प्रधानमन्त्री मोदीले बताए । विश्वभरिका भक्तहरू विशेष सन्तोष, असीम कृतज्ञता र अनुपम आनन्द अनुभव गरिरहेको उनले बताए । शताब्दियौं पुराना घाउहरू निको हुँदै गएको र शताब्दीयौंको संकल्प पूरा भएको उनले बताए ।
‘यो ५०० वर्षसम्म जलेको यज्ञको समापन हो,’ उनले टिप्पणी गरे ।
नयाँ फहराइएको ध्वजलाई भारतको सांस्कृतिक पुनरुत्थानको प्रतीक बताउँदै मोदीले यो धर्मध्वज झण्डा मात्र नभई भारतीय सभ्यताका पुनर्जागरणको ध्वज भएको बताए । यसका प्रतीकहरू गेरुवा रंग, सूर्यवंशको चिन्ह, पवित्र ॐ र कोविदार वृक्ष सबै रामराज्यका आदर्शहरूलाई प्रतिबिम्बित गर्छन् ।
‘यो ध्वज संकल्प हो, यो ध्वज सफलता हो… शताब्दियौंदेखि सजाइएको सपना मूर्त भएको छ,’ उनले भने ।
‘धर्मध्वजले सत्यकै विजय हुन्छ, असत्यको हुँदैन भनी स्मरण गराउनेछ र विश्वमा कर्म र कर्तव्यलाई सबैभन्दा ठूलो महत्त्व दिनुपर्छ,’ मोदी बताए । यसले गरिबीरहित, दुःखी वा असहाय कोही नहुने समाज निर्माण गर्ने सामूहिक प्रतिबद्धता दर्शाउने उनले थपे ।
प्रधानमन्त्री मोदीले विश्वभरिका रामभक्तहरूलाई शुभकामना दिए र मन्दिर निर्माणमा संलग्न दाता, योजनाकार, कलाकार तथा श्रमिकहरूप्रति आभार व्यक्त गरे ।
अयोध्याको महत्त्व उल्लेख गर्दै मोदीले भने, ‘अयोध्या त्यो भूमि हो जहाँ आदर्श आचरणमा परिणत हुन्छ ।’ उनले महर्षि वशिष्ठ, महर्षि विश्वामित्र, महर्षि अगस्त्य, निषादराज, शबरी र हनुमानजस्ता महान् व्यक्तिहरूले श्रीरामको जीवन निर्माणमा पु¥याएको भूमिकाको स्मरण गरे । उनका शिक्षाहरू र कर्मले रामलाई मर्यादा पुरुषोत्तम बनाएको उनले बताए ।
विरासतप्रति गर्व गर्नुका साथै गुलामीको मानसिकताबाट पूर्ण रूपमा मुक्त हुनुपर्ने मोदीले बताए । उनले सन् १८३५ मा थोमस म्याकलेले लागू गरेका नीतिहरूको उल्लेख गर्दै आगामी १० वर्ष भारतलाई यस मानसिकताबाट मुक्त गर्न समर्पित हुनुपर्ने बताए ।
अयोध्या राम मन्दिरको १९१ फीट अग्लो शिखरमा केसरी झण्डा राखिएको हो । यो १० फीट अग्लो र २० फीट लामो छ ।
भारतका गृहमन्त्री अमित शाहले राम मन्दिरमा केसरी रंगको ध्वजारोहण समारोह सनातन संस्कृति र प्रभु श्रीरामका भक्तहरूका लागि गर्वको विषय भएको बताएका छन् ।










प्रतिक्रिया