युक्रेन युद्ध अन्त्य गर्नका लागि अमेरिकी र रुसी प्रतिनिधिमण्डलबीच यूएईमा वार्ता

42
Shares

एजेन्सी । अमेरिकी सेनाका सचिव ड्यान ड्रीस्कोलले सोमबार यूएईको अबु धाबीमा रुसी अधिकारीहरूसँग युक्रेन युद्ध समाप्त गर्ने प्रस्तावित योजनाबारे छलफल गरेको सीएनएनले समाचार प्रकाशन गरेको छ ।

ड्रीस्कोलले मंगलबार पनि यी बैठकहरू जारी राख्नेछन् ।

रुसको प्रतिनिधिमण्डलमा को–को छन् भन्ने स्पष्ट छैन तर ड्रीस्कोल अमेरिकी समूहमा कूटनीतिकर्मी बाहेकका सबैभन्दा वरिष्ठ सदस्य हुन् ।

यी बैठकहरू भविष्यमा उच्च तहका वार्ताका लागि आधार तयार गर्ने उद्देश्यले सुरु गरिएको नाम नखुलाउने शर्तमा अमेरिकी अधिकारीले सीएनएनलाई बताएका छन् । रुसी प्रतिनिधिमण्डल राष्ट्रपति भ्लादिमिर पुटिनकै अनुमतिमा बैठकमा सहभागी भइरहेको उनले थपे ।

जेनेभामा भएका तीव्र कूटनीतिक छलफलपछि ड्रीस्कोलले यी बैठकहरू गरिरहेका हुन् । जेनेभामा अमेरिकी र युक्रेनी अधिकारीहरूले ट्रम्पको २८ बुँदे शान्ति प्रस्तावका विषयमा वार्ता गरेका थिए ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोका अनुसार, यो प्रस्ताव अमेरिकाले तयार पारेको हो र यसमा रुस तथा युक्रेन दुवैको सुझाव समावेश गरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रस्तावको विकल्पमा युरोपेलीहरूले तयार पारेको नयाँ प्रस्तावमा २८ भन्दा कम बुँदाहरू रहेको र आफ्ना उचित सुझावहरूलाई समावेश गरिएको बताएका छन् ।

जेनेभाबाट फर्किएको युक्रेनी टोलीले नयाँ प्रारूपबारे रिपोर्ट गरेको जेलेन्स्कीले बताए । ‘यो नै सही प्रक्रिया हो । म संवेदनशील विषयहरूमा राष्ट्रपति ट्रम्पसँग छलफल गर्नेछु,’ उनले भने ।

अमेरिकाको योजनाबारे क्रेमलिनले धेरै टिप्पणी गरेको छैन । तर, अमेरिकी प्रस्ताव मूलतः अन्तिम शान्ति सम्झौताका लागि आधार बन्न सक्ने पुटिनले बताएका छन् । रुसले हेरेको शान्ति प्रस्तावको संस्करण यस वर्ष अलास्कामा भएको अमेरिका–रुस शिखर वार्ताका छलफलहरूसँग मेल खाएको उनले थपे । तर, पछिल्ला दिनहरूमा भएका अमेरिका–युक्रेन वार्तापछि त्यस संस्करणमा परिवर्तन भएको छ कि छैन भनी स्पष्ट छैन ।