रुसले भारतलाई थप सस्तो मूल्यमा कच्चा तेल उपलब्ध गराउने

196
Shares

एजेन्सी । भारतका तेल प्रशोधकहरूलाई रुसले बेच्ने गरेको ‘युराल्स क्रुड’ कच्चा तेल थप सस्तो दाममा दिन रुसले प्रस्ताव गरेको ब्लूमबर्ग सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको छ ।

विगत दुई वर्षमै सबैभन्दा बढी छुटमा कच्चा तेल दिने प्रस्ताव गरिएको छ । भारतको रिलायन्स इन्डस्ट्रीज सहित भारतका प्रमुख आयातकर्ताहरूले कठोर बन्दै गएको पश्चिमी प्रतिबन्ध पालन गर्न रुसी तेलको खरिद घटाएको वा रोकिरहेको स्थितिमा रुसको प्रस्ताव आएको हो ।

अमेरिकाले रुसका प्रमुख उत्पादकहरू रोजनेफ्ट र लुकोइलमाथि लगाएको प्रतिबन्धले सन् २०२२ पछि तीव्र रूपमा बढेको तेल व्यापारलाई अवरुद्ध गरेको छ ।

रिपोर्ट अनुसार, डिसेम्बरमा लोड हुने र जनवरीमा भारत आउने युराल्स कार्गोहरू ‘डेटेड ब्रेन्ट’ को मूल्यभन्दा प्रति ब्यारेल ७ डलरसम्म सस्तोमा बेच्न रुसले प्रस्ताव गरेको छ । प्रतिबन्धअघि त्यो छुट करिब ३ डलर मात्रै थियो भने अहिले छुट झन्डै दोब्बर भएको देखिन्छ ।

उपलब्ध कार्गोमध्ये करिब पाँचौं भाग मात्रै प्रतिबन्धमा नपरेका विक्रेताहरूले बेचिरहेका छन् । यसले प्रतिबन्धको जोखिम लिन नचाहने भारतीय रिफाइनरीहरूको विकल्प सीमित बनाएको छ ।

भारतीय रिफाइनरीहरूले प्रतिबन्ध लागू भएपछि रुसी तेलको नयाँ खरिद रोक्न थालेका थिए । तर, भारी छुट देखेपछि ‘ब्ल्याकलिस्ट’ मा नपरेका विक्रेताबाट आयात गर्न सकिने भएकाले कतिपय प्रशोधकहरूले पुनः वार्ता थालेका छन् ।

अमेरिकाले रोजनेफ्ट र लुकोइललाई पनि गाजप्रोम नेफ्ट र सुर्गुत नेफ्टेगासमाथि लगाइएका पुराना प्रतिबन्धमा थपिदिँदा नियमअनुसार आयात गर्न सकिने रुसी आपूर्तिको पहुँच झनै घटेको छ । यसले रिफाइनरीहरूलाई मध्यपूर्व र अन्य क्षेत्रबाट विकल्प खोज्न बाध्य बनाएको छ ।

युराल्स मिश्रण रुसको पश्चिमी बन्दरगाहबाट निर्यात हुन्छ र त्यो सन् २०२२ देखि भारतीय रिफाइनरीहरूको मुख्य कच्चा तेल बनिरहेको छ । युक्रेन आक्रमणपछि युरोपतर्फको आपूर्ति घटाएर रुसले भारतलाई ठूलो छुट दिएपछि यसको प्रयोग झन् बढेको हो ।

गत बिहीबार रिलायन्स इन्डस्ट्रीजले आफ्नो जामनगरको निर्यातमुखी रिफाइनरीमा रुसी कच्चा तेलको प्रयोग रोकिएको जानकारी दियो । यो निर्णय युरोपेली संघले रुसी तेलबाट बनेका पेट्रोलियम उत्पादनमा लगाएको प्रतिबन्ध पालना गर्न गरिएको हो । भारतको सबैभन्दा ठूलो रिफाइनरी सञ्चालन गर्ने रिलायन्सले २० नोभेम्बरदेखि विशेष आर्थिक क्षेत्र रिफाइनरीमा रुसी क्रुडको प्रशोधन बन्द गरिएको पुष्टि गरेको छ ।

सन् २०२६ जनवरीमा ईयूले लागू गर्न खोजेका अझ कडा प्रतिबन्धहरूभन्दा पहिले नै तयारीस्वरूप यो कदम चालिएको हो । यसको असर रिलायन्सका ईयू, अमेरिकी र अन्य महत्वपूर्ण बजारसम्बन्धी निर्यातमा पर्छ ।

अब २० नोभेम्बरपछि आउने रुसी तेललाई जामनगर कम्प्लेक्सकै घरेलु बजार–केन्द्रित रिफाइनरीमा पठाइनेछ ।

रिलायन्सले रोजनेफ्टसँग प्रतिदिन ५ लाख ब्यारेलसम्म कच्चा तेल किन्न दीर्घकालीन सम्झौता गरेको थियो । तर, ट्रम्प प्रशासनद्वारा रोजनेफ्ट र लुकओइलमाथि लगाइएका नयाँ प्रतिबन्धपछि यी खरिद क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ ।