ताइवानका विषयमा सीले ट्रम्पसँग गरे छलफल, चीनको अभिन्न अंग भएको दाबी दोहोर्याए

175
Shares

एजेन्सी । चीनका राष्ट्रपति सी चिनपिङले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग सोमबार गरेको फोनवार्तामा ताइवानबारे चीनको दाबी यथावत रहेको बताएका छन् । यो फोन वार्ता ताइवानलाई लिएर बढ्दो तनावकै बीचमा सम्पन्न भएको हो ।

चीनको विदेश मन्त्रालयका अनुसार, सीले ट्रम्पलाई ताइवानको पुनरेकीकरण दोस्रो विश्वयुद्धपछि बनेको अन्तर्राष्ट्रिय व्यवस्थाको महत्त्पूर्ण हिस्सा भएको बताए । चीनले ताइवान आफ्नो भूभाग भएको दाबी गर्छ र आवश्यकता परे बल प्रयोग गरेर पनि मिसाउने कुरा दोहोर्याउँछ । ताइवानको लोकतान्त्रिक सरकारले चीनको दाबी कडा रूपमा अस्वीकार गर्दै आएको छ ।

सी र ट्रम्पबीचको कुराकानीमा युक्रेन, अमेरिका–चीन व्यापार सम्बन्धजस्ता विषय पनि उठेका थिए । तर, ताइवान छलफलको मुख्य विषय थियो ।

ताइवान मुद्दामा चीन अहिले जापानसँग पनि कडा कूटनीतिक विवादमा छ । यसले गर्दा चिनियाँ पर्यटकको जापान भ्रमण घटेको, जापानी समुद्री खाद्यमा प्रतिबन्ध लगाइएको र सांस्कृतिक कार्यक्रम रद्द भएको स्थिति छ । यो विवाद जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमाथि चीनले आक्रमण गरेमा जापानले सैन्य हस्तक्षेप गर्न सक्छ भनेपछि सुरु भएको हो ।

मंगलबार ताकाइचीले ट्रम्पसँग पनि फोनमा कुरा गरेको र सीसँगको उनको कुराकानीबारे छलफल भएको बताइन् । उनले अमेरिका–जापान सम्बन्ध र इन्डो–प्यासिफिक क्षेत्रका मुद्दाबारे विस्तृत रूपमा कुरा भएको बताइन् ।

अमेरिकाले ताइवानलाई स्वतन्त्र राष्ट्रका रूपमा आधिकारिक मान्यता नदिए पनि वाशिङटन ताइवानको सबभन्दा ठूलो सुरक्षा सहयोगी र हतियार आपूर्तिकर्ता हो ।

ट्रम्पले ट्रुथ सोसलमा चीनसँगको फोन वार्ताबारे उल्लेख गरे पनि ताइवानबारे केही लेखेनन् । उनले केवल अमेरिका–चीन सम्बन्ध अत्यन्त सबल भएको दाबी गरे ।

चीनको विदेश मन्त्रालयका अनुसार, ट्रम्पले सीलाई ताइवान मुद्दा चीनका लागि कति महत्त्वपूर्ण छ आफूले बुझेको बताए ।
त्यसको जवाफमा ताइवानका प्रधानमन्त्री चो जुंग–ताइले भने, चीनमा मिसिने विकल्प ताइवानका २ करोड ३० लाख जनताका लागि अस्वीकार्य भएको बताए ।

‘ताइवान (रिपब्लिक अफ चाइना) पूर्ण रूपमा सार्वभौम र स्वतन्त्र देश हो,’ उनले पत्रकारहरूलाई बताए ।

ट्रम्पले पनि आफू आगामी अप्रिलमा चीन भ्रमण गर्ने र सी सन् २०२६ मै वाशिङटन आउने कुरा पुष्टि गरे । चीनले यसबारे केही बताएको छैन ।

सी र ट्रम्पबीचको फोन वार्ता अक्टोबर महिनामा दक्षिण कोरियामा भएको भेटपछि भएको हो । यी दुईबीच सन् २०१९ पछिकै पहिलो प्रत्यक्ष भेट थियो । त्यतिखेर दुवैले व्यापार सम्बन्ध सुधार्ने कुरा गरेका थिए । व्यापारयुद्धले महिनौंदेखि विश्व बजारमा अस्थिरता ल्याएको छ ।

अक्टोबर महिनामा दक्षिण कोरियामा भएको भेटमा चीनले दुर्लभ खनिज पदार्थ निर्यातमा केही प्रतिबन्ध एक वर्षका लागि हटाउने सहमति गरेको थियो । यी खनिजहरू आधुनिक इलेक्ट्रोनिक्स, गाडी र रक्षा उद्योगका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छन् ।

अमेरिकाले पनि केही चिनियाँ सामानमा लगाएको कर घटाउने र चीनले अमेरिकी सोयाबिन १२ लाख मेट्रिक टन यस वर्ष र सन् २०२६ मा २५ लाख मेट्रिक टन किन्ने सहमति भएको बतायो ।

सीले ट्रम्पलाई दुवै देशले सकारात्मक गति कायम राख्नुपर्ने बताए । उनीहरूबीच दक्षिण कोरियामा भएको भेटले अमेरिका–चीन सम्बन्धको दिशा फेरि सही मार्गमा ल्याएको चीनले दाबी गरेको छ । ट्रम्पले पनि दुवै पक्षबीच उल्लेखनीय प्रगति भएको बताए ।

अन्त्यमा, दुवैले युक्रेन युद्धबारे पनि चर्चा गरे । सीले युद्ध अन्त्य गर्नुपर्ने बताए । त्यसलाई ट्रम्पले पनि आफ्नो प्राथमिकतामा राखेका छन् ।