
एजेन्सी । चीनको शाङ्हाईमा अरुणाचल प्रदेशकी एक महिलालाई केही समय नियन्त्रणमा लिइएपछि भारतले कूटनीतिक आपत्ति जनाएको छ ।
आफूलाई विमानस्थलमा १८ घण्टा रोकिएको प्रेमा थोङदोकले बताइन् । उनी मूलतः अरुणाचल प्रदेशकी हुन् । उनको भारतीय पासपोर्टमा जन्मस्थान अरुणाचल प्रदेश लेखिएकाले चीनले अवैध मानेको थियो ।
भारतले यस घटनाबारे चीनसमक्ष कडा विरोध जनाएको छ । शाङ्हाईस्थित भारतीय कन्सुलेटले पनि तुरुन्तै कदम चालेको र यात्रुलाई सहयोग गरेको बताइएको छ ।
थोङदोक अहिले वित्तीय सल्लाहकारका रूपमा काम गर्छिन् । उनी नोभेम्बर २१ मा लन्डनबाट जापान जाँदै गर्दा शाङ्हाई पुदोङ विमानस्थलमा तीन घण्टाको ट्रान्जिट परेको थियो । बिहान शाङ्हाईमा अवतरण गरेपछि सुरक्षा जाँचका क्रममा उनलाई मात्र अलग्याइएको उनले बताइन् ।
उनका अनुसार, अक्टोबर १६ मा उनी त्यही विमानस्थल हुँदै सजिलै ट्रान्जिट भएकी थिइन् ।
‘म लाइनमा उभिँदै गर्दा एक महिला आएर मलाई बाहिर निकालिन् । मैले किन भनेर सोधें । उनीहरूले मेरो पासपोर्ट देखाउँदै ‘अरुणाचल प्रदेश चीनको भाग हो, त्यसैले पासपोर्ट अवैध छ’ भने । मैले उनीहरूलाई यो कुन कानूनमा लेखिएको छ भनेर सोधें,’ उनले इन्डियन एक्सप्रेसलाई बताइन् ।
उनले थपिन्, ‘एक जनाले त मलाई ‘तिमीले चिनियाँ पासपोर्ट लिनुपर्छ’ पनि भने । उनीहरू मलाई उपहास गरिरहेका थिए ।
लन्डनबाट १२ घण्टा यात्रा गरेपछि मलाई फेरि १८ घण्टा त्यहीँ थुनियो । उनीहरूले पासपोर्ट राखे, खान पनि दिएनन् । चीनमा गुगल नचल्ने भएकाले कुनै जानकारी पनि पाइनँ । जापानको वैध भिसा हुँदाहुँदै पनि मलाई जापान जान दिएनन् । ‘बेलायत फर्क’ वा ‘भारत जाऊ’ भनेरै अड्डी कसे ।’
धेरै घण्टापछि उनले फोन मागिन् र वकिलसँग सम्पर्क गर्न माग गरिन् ।
‘मैले बेलायतमा रहेर सहयोग गर्ने साथीहरूलाई फोन गरें । त्यसपछि भारतको कन्सुलेटमा खबर गयो । कन्सुलेटका ६ जना अधिकारी एक घण्टामै विमानस्थल आए, खाना पनि ल्याए । उनीहरूले मलाई जापान जान दिन आग्रह गरे, तर चिनियाँ अधिकारीहरूले मानेनन् । उल्टै ‘चाइना ईस्टर्न एयरलाइन्स’ मै टिकट काट्न पर्ने अडान राखे । अन्ततः मैले थाइल्यान्ड हुँदै भारत जाने टिकट काटें । अहिले थाइल्यान्डमै बसेर काम गरिरहेकी छु,’ उनले बताइन् ।
उनले आफ्नो अनुभव भारतको विदेश मन्त्रालयलाई इमेलमार्फत जानकारी गराएको बताइन् । भारतीय पासपोर्टलाई अवैध भनेर चिनियाँहरूले भारतको सार्वभौमसत्तामाथि ठाडो चुनौती दिएको उनको भनाइ छ ।
उनले चीन सरकारसँग कडा रूपमा मुद्दा उठाउन र आफूले भोगेको उत्पीडन, पीडा, मानसिक–शारीरिक कष्ट तथा आर्थिक क्षतिको क्षतिपूर्ति माग गर्न भारतलाई आग्रह गरेकी छन् ।
‘यत्तिका वर्ष बेलायतमा बस्दा पनि मैले भारतीय पासपोर्ट छोडेकी छैन किनकि म आफ्नो देश मन पराउँछु,’ उनले भनिन्, ‘बेलायती पासपोर्ट भएको भए शायद यस्तो अनुभव गर्नु पर्दैनथियो ।’
अरुणाचल प्रदेश भारतको अविभाज्य हिस्सा हो र त्यहाँका नागरिकले भारतीय पासपोर्टमा यात्रा गर्न पाउने अधिकार छ ।
स्रोतहरूले बताएअनुसार, चिनियाँ अधिकारीहरूको कामले अन्तर्राष्ट्रिय उड्डयनसम्बन्धी ‘शिकागो’ र ‘मोन्ट्रियल’ महासन्धिहरूको उल्लंघन गर्छ ।
दुवै देशले सम्बन्ध सामान्य बनाउने काम गरिरहेको बेला यस प्रकारका घटनाले अनावश्यक समस्या थप्ने भारतले जनाएको छ ।










प्रतिक्रिया