
एजेन्सी । चीनमा चार वर्षअघि बिटकोइन माइनिङमा प्रतिबन्ध लगाइएको भए पनि अहिले आएर चुपचाप त्यसलाई पुनः थालिएको छ ।
सस्तो बिजुली र ऊर्जामा समृद्ध केही प्रान्तहरूमा बढिरहेको डेटा सेन्टरको विकासको फाइदा उठाउँदै व्यक्तिगत तथा कर्पोरेट माइनर्सहरू पुनः सक्रिय भएको तथ्यांकले देखाएको रोयटर्स समाचार संस्थाले समाचार प्रकाशन गरेको छ ।
चीन सन् २०२१ सम्म विश्वकै सबैभन्दा ठूलो क्रिप्टो माइनिङ गर्ने देश थियो । तर, त्यहाँको सरकारले वित्तीय स्थिरता र ऊर्जा बचतमा खतरा भएको भन्दै क्रिप्टो ट्रेडिङ तथा माइनिङ दुवैमा पूर्ण प्रतिबन्ध लगाएपछि गतिविधि ठप्प भएको थियो ।
प्रतिबन्धपछि चीनको विश्वव्यापी बिटकोइन माइनिङ हिस्सेदारी शून्यमा झरेको थियो । तर, ह्यासरेट इनडेक्सका अनुसार चीनको हिस्सा फेरि बढेर अक्टोबर महिनाको अन्त्यसम्म १४ प्रतिशत पुगेको छ । त्यसले सूक्ष्म तर महत्त्वपूर्ण पुनरागमन भएको देखाउँछ ।
यस पुनरागमनलाई बिटकोइन माइनिङ मशिन निर्माता क्यानान इन्कले चीनमा आफ्नो तीव्र रूपमा बढेको बिक्रीले पनि पुष्टि गरेको छ । चीनमा माइनिङ बढ्दै जानुले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीको माग तथा मूल्यलाई समर्थन मिल्ने अपेक्षा गरिएको छ ।
सिन्ज्याङका निजी माइनर वाङका अनुसार, ऊर्जा धेरै हुने उक्त प्रान्तमा गत वर्षदेखि उनले माइनिङ सुरु गरेका हुन्। ‘सिन्ज्याङको धेरै बिजुली बाहिर पठाउन सकिँदैन, त्यसैले यहाँ क्रिप्टो माइनिङमार्फत उपभोग हुन्छ,’ उनले भने, ‘जहाँ बिजुली सस्तो हुन्छ, त्यहीँ मानिसहरू माइनिङ गर्छन् ।’
सन् २०२१ को कडाइपछि धेरै चिनियाँ माइनरहरू उत्तर अमेरिका र मध्य एसियाजस्ता विदेशी बजारमा सरेका थिए । तर, अहिले बिटकोइनको मूल्य फेरि बढ्दै जाँदा चीनमा माइनिङ गतिविधि पनि चम्किन थालेको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका क्रिप्टो–समर्थक नीतिहरू र डलरप्रति घट्दो विश्वासले पनि क्रिप्टो माइनिङलाई लाभदायक बनाएको छ ।
यद्यपि बिटकोइन हाल अक्टोबरको उच्च स्तरबाट करिब एकतिहाइले घटेको छ ।
पर्पेचुअल्स डट्कमका सीईओ प्याट्रिक ग्रुहनका अनुसार, चीनमा आर्थिक प्रलोभन बलियो हुँदा नीतिगत लचकता देखिन्छ । चीनमा माइनिङको पुनरागमन बजारले वर्षौंदेखि देखेको सबैभन्दा महत्त्वपूर्ण संकेत हो ।’
हालसम्म चीनले औपचारिक रूपमा माइनिङ प्रतिबन्ध खुकुलो पारेको घोषणा भने गरेको छैन । तर, हल्का संकेत मात्रले पनि बिटकोइनलाई विश्वव्यापी ‘राज्य–प्रतिरोधी’ सम्पत्तिको भाष्य बलियो बनाइदिने ग्रुहनको भनाइ छ ।
बिटकोइन माइनिङमा उच्च ऊर्जा उपयोग हुन्छ । विशेष कम्प्युटरमार्फत जटिल गणितीय समस्या समाधान गरी बिटकोइन कमाइन्छ । यो अझै पनि सिन्ज्याङ जस्ता बिजुलीमा धनी क्षेत्रमै बढी सक्रिय छ ।
सिचुआनका ड्युक ह्वाङले केही वर्षअघि प्रतिबन्धका कारण माइनिङ छोडेका थिए । उनी भन्छन्, ‘यो संवेदनशील क्षेत्र हो… तर सस्तो बिजुली उपलब्ध हुनेहरू अझै माइनिङ गरिरहेका छन् ।’
डेटा सेन्टरमा अत्यधिक लगानी गरेका केही स्थानीय सरकारहरूले बिजुली र कम्प्युटिङ क्षमतामा कमीभन्दा बढी उत्पादन गरेका कारण पनि माइनिङ पुनरागमन भएको बिटकोइन माइनिङ मशिन निर्माताको एक स्रोतले बताएको छ ।
माइनिङ मशिन निर्माताहरूको बिक्रीले पनि यो प्रवृत्ति पुष्टि गर्छ ।
विश्वकै दोस्रो ठूलो माइनिङ मशिन निर्माता क्यानानले सन् २०२३ मा आफ्नो विश्वव्यापी आम्दानीको ३०.३ प्रतिशत चीनबाट कमाएको थियो । सन् २०२२ मा त्यो केवल २.८ प्रतिशत थियो । यो हिस्सा सन् २०२४ को दोस्रो त्रैमाससम्म झनै बढेर ५० प्रतिशतभन्दा माथि पुगेको बताइन्छ ।
क्यानानले भने चीनमा आफ्नो बिक्री बढ्नुमा अमेरिकी कर अनिश्चितता, बढ्दो बिटकोइन मूल्य र चीनको डिजिटल सम्पत्तिप्रतिको तटस्थ धारणा मुख्य कारण भएको बताएको छ । कम्पनीले भने माइनिङ नीतिबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
क्यानानका अनुसार, चीनमा माइनिङ मशिनहरूको अनुसन्धान, निर्माण र बिक्री अनुमति प्राप्त छ ।
चीनमा बिटकोइन माइनिङ बढ्नुको अर्थ बेइजिङले डिजिटल मुद्राप्रतिको कडाइ केही नरम पारेको संकेत हो । पहिले यी मुद्राहरूलाई पूँजी बाहिरिने जोखिम र चिनियाँ मुद्रासँग प्रतिस्पर्धा गर्ने खतरा मानिन्थ्यो ।
उदाहरणका लागि, हङकङमा स्थिर मुद्रा सम्बन्धी नयाँ कानुन अगस्ट महिनादेखि लागू भएको छ । त्यसले अमेरिकी बजारसँग प्रतिस्पर्धा गर्दै नियमनयुक्त क्रिप्टो वातावरण बनाउन मद्दत गर्छ । चीनले युआन–सम्बद्ध स्टेबलकोइन प्रयोगलाई अनुमतिका लागि समेत विचार गरिरहेको बताइएको छ ।
क्रिप्टोक्वान्टका अनुसन्धान प्रमुख जुलियो मोरेनो बिटकोइन माइनिङ चीनमा अझै प्रतिबन्धित रहेको बताए । तर, ठूलो मात्रामा माइनिङ चीनमै चलिरहेका छन् ।
उनका अनुसार, विश्वव्यापी बिटकोइन माइनिङ क्षमताको १५–२० प्रतिशत चीनमै सक्रिय छ ।
मान कुन ल फर्मका संस्थापक लियू होङलिनका अन्ुसार, लाभदायक व्यवसाय पूरै रोक्न कठिन हुन्छ । ‘मेरो व्यक्तिगत धारणामा सरकारले माइनिङविरुद्धका नीतिहरू बिस्तारै खुकुलो पार्नेछ किनकि यस्तो क्रियाकलाप पूर्ण रूपमा रोक्न सम्भव हुँदैन,’ उनले बताए ।








प्रतिक्रिया