
एजेन्सी । प्रसिद्ध अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ ।
उनलाई नोभेम्बर महिनाको सुरुमा ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो र पछि डिस्चार्ज गरिएको थियो । त्यतिखेर उनले स्वास्थ्य लाभ गरिरहेको परिवारले जानकारी दिएको थियो ।
तर, सोमबार दिउँसो धर्मेन्द्रको घरबाट एम्बुलेन्स निस्केको देखियो । त्यसपछि सेलिब्रेटीहरू जुहूको भिले पार्लेमा रहेको मसानघाट पुगे । परिवारले अझै औपचारिक पुष्टि नगरे पनि निर्देशक करण जोहरले धर्मेन्द्रको मृत्युबारे पोस्ट गरेका छन् ।
धर्मेन्द्रले ६ दशकभन्दा लामो समय बलिउडमा बिताएका थिए । ३०० भन्दा बढी फिल्म खेलेर अमूल्य विरासत छोडेर गएका छन् ।
मृत्युको कारण अहिलेसम्म खुलासा गरिएको छैन तर धर्मेन्द्र लामो समयदेखि बिरामी थिए । नोभेम्बर १ मा उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको अन्तिम फिल्म श्रीराम राघवनको ‘इक्कीस’ हुनेछ जसमा अमिताभ बच्चनका नाति अगस्त्य नन्दा र जयदीप अहलावत पनि छन् । यो फिल्म २५ डिसेम्बर २०२५ मा रिलिज हुनेछ ।
धर्मेन्द्रले सन् २०२३ को ‘रक्की और रानी की प्रेम कहानी’ र २०२४ को ‘तेरी बातों में ऐसा उलझा जिया’ जस्ता फिल्महरूबाट दर्शकलाई मोहित बनाइरहे । उनको बहुमुखी अभिनय नै उनको पहिचान थियो ।
‘फूल और पत्थर’ (सन् १९६६) र ‘आए दिन बहार के’ जस्ता रोमान्टिक फिल्मदेखि ‘धर्म वीर’ र ‘हुकूमत’ जस्ता एक्सन फिल्मसम्म उनको अभिनयकला देख्न पाइएको थियो ।
तर, उनको सबैभन्दा प्रसिद्ध भूमिका भनेको सन् १९७५ को रमेश सिप्पी निर्देशित ‘शोले’ मा देखिएको रमाइलो पात्र ‘वीरू’ नै हो ।
उनको सुन्दर रूप, स्वाभाविक आकर्षण, रमाइलो नृत्य शैली र ‘यमला पगला दीवाना’ जस्ता गीतले उनलाई अमर बनाएका छन् । महिलामाझ मात्र नभई पुरुषहरूकै बीच पनि धर्मेन्द्र अत्यन्त लोकप्रिय थिए ।
धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा पञ्जाबको नसरालीमा धर्मेन्द्र केवलकृष्ण देओलको रूपमा भएको थियो । उनले सन् १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ फिल्ममार्फत सिनेमामा प्रवेश गरेका थिए । सन् १९६० को दशकको बीचतिर ‘फूल और पत्थर’ (सन् १९६६) र ‘अनुपमा’ (सन् १९६६) जस्ता फिल्मले उनलाई स्टारडममा पुर्यायो ।
विशेषगरी ऋषिकेश मुखर्जीको ‘चुपके चुपके’ मा उनको अभिनय निकै उम्दा थियो ।
सन् २०१२ मा भारतको तेस्रो उच्च नागरिक सम्मान पद्म भूषणबाट धर्मेन्द्र सम्मानित भएका थिए ।
स्वर्गीय अभिनेता धर्मेन्द्रले पहिलो विवाह प्रकाश कौरसँग गरेका थिए । पछि उनले धेरै फिल्ममा सहअभिनेत्री भएकी हेमा मालिनीसँग पनि विवाह गरे । उनका ६ सन्तान छन् । प्रकाश कौरसँग छोरा सनी देओल, बबी देओल, छोरी विजेता र अजीता । हेमा मालिनीसँग छोरी ईशा देओल र अहाना देओल छन् ।







प्रतिक्रिया