देउवाको हस्ताक्षरमा कांग्रेसले चुनाव लड्ने होइन: गगन


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा चुनाव नलड्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने र त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुने उल्लेख गर्दै नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर कांग्रेस निर्वाचन आयोगमा जाने दाबी गरे ।

‘नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ । यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन,’ थापाले भनेका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्-

बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो?
मैले भने; होइन ।

साथीहरूले फेरी सोध्नुभयो कसरी?

मैले भने; प्रष्ट छ – अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ।

यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको। अब विशेष महाधिवेशनको विकल्प छैन।
कुरा स्पष्ट छ, अलमलमा नपरौं।