कुख्यात यौन अपराधी जेफ्री एप्सटीनसँग वामपन्थी चिन्तक नोम चोम्स्कीको निकट सम्बन्ध रहेको खुलासा


एजेन्सी । प्रसिद्ध भाषाविद् र दार्शनिक नोम चोम्स्कीले जेफ्री एप्स्टीनसँग नियमित सम्पर्क राख्न पाउनु मूल्यवान् अनुभव भएको बताएका छन् भनी खुलासा भएको छ ।

अमेरिकी सांसदहरूले नोभेम्बर महिनाको आरम्भतिर सार्वजनिक गरेका इमेलहरूमा उल्लेख भएअनुसार नाबालिकासँग वेश्यावृत्तिको माग गरेको अभियोगमा दोषी ठहरिएका एप्सटीनसँग चोम्स्कीको सम्बन्ध रहेको उजागर भएको हो ।

चोम्स्कीका यी टिप्पणीहरूले वा उनीसँग जोडिएका भनाइहरूले एप्स्टीनसँगको सम्बन्ध चोम्स्कीले पहिले दाबी गरेजति सामान्य राजनीतिक वा शैक्षिक छलफल मात्र नभई त्यसभन्दा गहिरो रहेको संकेत गर्छ । एप्स्टीनले सन् २०१९ मा जेलमै आत्महत्या गरेको भनेर अधिकारीहरूले निष्कर्ष निकालेका थिए । त्यतिखेर उनीमाथि मानव तस्करीसम्बन्धी संघीय मुद्दा पुर्पक्ष चलिरहेको थियो ।

९६ वर्षीय चोम्स्कीले आफ्नो पहिलो वैवाहिक जीवनसँग सम्बन्धित साझा कोष मिलाउने क्रममा एप्स्टीनसँग जोडिएको खाताबाट करिब २ लाख ७० हजार डलर पाएको पनि स्वीकार गरेको भनिएको छ । तर एमआईटीका प्राध्यापक चोम्स्कीले भने एक पैसा पनि एप्स्टीनबाट प्रत्यक्ष नआएको भनेर जोड दिएका छन् ।

१२ नोभेम्बरमा अमेरिकाको प्रतिनिधिसभाको ओभरसाइट समितिका रिपब्लिकन सदस्यहरूले सार्वजनिक गरेका इमेलहरूमा एप्स्टीनले विभिन्न राजनीतिक, शैक्षिक र व्यावसायिक प्रभावशाली व्यक्तिहरूसँग संवाद गरेको देखाएका छन् । त्यसमा बिल क्लिन्टन प्रशासनका पूर्व अर्थमन्त्री ल्यारी समर्स र डोनल्ड ट्रम्पका सहयोगी स्टिभ ब्यानन पनि परेका छन् । यी इमेलहरूले एप्स्टीन र चोम्स्की पर्याप्त नजिक रहेको, सांगीतिक रुचिबारे कुरा गर्ने वा सम्भावित छुट्टीको योजना समेत गर्ने गरेको देखाउँछन् ।

यीमध्ये सबैभन्दा ध्यान खिच्ने चोम्स्की–सम्बन्धी कागजात जो जससँग सम्बन्धित छ शीर्षकको एक समर्थनपत्र हो । त्यसमा चोम्स्कीको नाम र एरिजोना विश्वविद्यालयका ‘लरिएट प्रोफेसर’ को पद उल्लेख छ । यो पत्रको मिति नखुलेको भए पनि टाइप गरिएको हस्ताक्षर छ ।

एप्स्टीनले सन् २००८ मा फ्लोरिडामा नाबालिकालाई वेश्यावृत्ति गराएको मुद्दामा दोष स्वीकार गरेका थिए । उनलाई १८ महिनाको कैद सजाय दिइएकोमा १३ महिना जेल बसेर सन् २००९ मा बाहिरिएका थिए ।

अनुसन्धानकर्मीहरूले हेरेको समर्थन–पत्रमा चोम्स्की लेख्छन्, ‘मैले एप्स्टीनलाई ६ वर्षअघि भेटें । त्यसयता हामी नियमित सम्पर्कमा छौं । धेरै विषयमा विस्तृत छलफल गर्दै आएका छौं । यो अनुभव मेरा लागि अत्यन्त मूल्यवान् छ ।’

‘एकपटक हामी ओस्लो सम्झौताबारे कुरा गर्दै थियौं । एप्स्टीनले त्यहीबेला फोन उठाएर ती सम्झौताको खाका तयार पार्ने नर्वेली कूटनीतिकर्मीलाई फोन गरे । त्यसपछि रोचक छलफल सुरु भयो,’ पत्रमा उल्लेख गरिएको छ । एप्स्टिनले चोम्स्कीलाई पूर्व इजरायली प्रधानमन्त्री एहुद बराकसँग भेटाइदिएको पनि उल्लेख गरेका छन् । त्यसबारे चोम्स्कीले पहिले धेरै लेखेका थिए ।
एप्स्टीनले चोम्स्कीकी दोस्री पत्नी भालेरियालाई ‘ज्याज’ संगीतसँग परिचय गराउन मद्दत गरेका थिए ।

‘जेफ्रीको असीम जिज्ञासा, विशाल ज्ञान, तीक्ष्ण दृष्टिकोण र गहिरो मूल्यांकनका साथै उनको सरल स्वभावले उनलाई अझ प्रभावशाली बनाएको छ । उनी छिट्टै एक मूल्यवान् मित्र र बौद्धिक आदानप्रदानको नियमित स्रोत बने,’ पत्रको अन्त्यमा लेखिएको छ ।

चोम्स्की र एप्स्टिनबीच अर्को महत्त्वपूर्ण इमेल सन् २०१५ मा आदानप्रदान भएको थियो । त्यसमा एप्स्टीनले चोम्स्कीलाई न्युयोर्क र न्यु–मेक्सिकोका आफ्ना निवासहरू प्रयोग गर्न प्रस्ताव गर्छन् । चोम्स्कीले यो प्रस्ताव स्वीकारे कि स्वीकारेनन्, इमेलहरूले स्पष्ट गर्दैनन् ।

हालैका महिनाहरूमा एप्स्टीन मामिलामा रुचि फेरि बढेको छ किनभने उनका पूर्व मित्र रहेका ट्रम्पले सन् २०२४ को चुनावपछि एप्स्टीनका ग्राहकहरूको सूची सार्वजनिक गर्ने वाचा गरेका थिए । तर, कार्यकाल थालेपछि ट्रम्प प्रशासनले यस्तो सूची नभएको बताएको थियो र थप फाइल सार्वजनिक गर्न अस्वीकार गरेपछि ठूलो राजनीतिक विवाद उत्पन्न भएको थियो ।

यद्यपि, दबाब बढेपछि ट्रम्पले बुधबार एउटा विधेयकमा हस्ताक्षर गरेका थिए । त्यसले न्याय मन्त्रालयलाई एप्स्टीनसम्बन्धी थप कागजात सार्वजनिक गर्न आदेश दिएको छ ।

चोम्स्की एप्स्टीन काण्डमा मुछिएका एक मात्र प्रसिद्ध शैक्षिक व्यक्तित्व होइनन् । बुधबार ल्यारी समर्सले पनि एप्सटीनसँग नाम जोडिएपछि हार्वर्ड विश्वविद्यालयमा प्राध्यापन जारी नराख्ने बताएका छन् ।

चोम्स्की सन् २०२४ मा स्ट्रोक भएपछि ब्राजिलमा स्वास्थ्यलाभ गरिरहेको समाचार सार्वजनिक भएदेखि सार्वजनिक रूपमा बोलिरहेका छैनन् ।

Skip This