
एजेन्सी । रुसले भेनेजुएलालाई सैन्य सहायता उपलब्ध गराउनमा थप भूमिका खेल्ने संकेत दिएको छ ।
विशेषगरी अमेरिकासँग भेनेजुएलाको तनाव उचाइमा पुगेको बेला रुसले यो कदम चाल्न लागेको हो ।
रुसी पत्रिका गजेटासँग कुरा गर्दै अलेक्सी झुराभलेभले भेनेजुएलालाई सु–३०एमके२ लडाकु विमान र एस–३००भीएम उपलब्ध गराइएको बताए ।
भेनेजुएलासँग नभएको पन्तसिर–एस१ नामक हवाई प्रतिरक्षा प्रणाली पनि हालै दिइएको उनले जानकारी गराए । त्यसका साथै नयाँ ओरेश्निक मिसाइल र क्यालिब्र क्रूज मिसाइल पनि उपलब्ध गराउन सकिने र त्यसलाई रोक्ने कुनै अन्तर्राष्ट्रिय प्रतिबन्ध नरहेको उनको भनाइ छ ।
यस्तो प्रणालीले अमेरिकाका धेरै भागहरूमा भेनेजुएलाबाटै आक्रमण गर्न सक्छ । यसबीच अमेरिकाले क्यारिबियाली क्षेत्रमा हवाई आक्रमण बढाएको छ र लागूपदार्थ तस्कर–आतंकवादी नेटवर्कविरुद्धको अभियान विस्तार गरेको छ । दुवै पक्षका तर्फबाट कडाइ बढ्दै जाँदा क्षेत्रीय भिडन्तको डर बढेको छ ।
रुस र भेनेजुएलाबीच तेल, हतियार, क्रिप्टोकरेन्सी, पश्चिमाले लगाएको प्रतिबन्ध र भाडाका लडाकु समूहहरूका गतिविधिमार्फत दशकौंदेखि जोडिएका छन् । यो सम्बन्ध पुटिन र भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजको समयमा बलियो बनेको हो ।
यी दुई देशले गत मे महिनामा एउटा रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए । त्यसलाई दुवै देशका नेताहरूले अक्टोबर महिनामा अनुमोदन गरे । रुसका विदेशमन्त्री सर्गे लाभरोभले क्रेमलिन भेनेजुएलाको सुरक्षामा पूर्ण रूपमा काम गर्न तयार रहेको बताएका छन् ।
तर विश्लेषकहरूका अनुसार, रुससँग सीमित क्षमता भएकाले भेनेजुएलामा सैनिक पठाउने सम्भावना निकै कम छ । रुस अहिले युक्रेन युद्धमा व्यस्त छ र टाढाको मित्रदेशका लागि धेरै स्रोत छुट्याउने अवस्था छैन ।
तर, रुससँग अन्य विकल्पहरू छन् । प्रत्यक्ष सैन्य सहयोग दिन नसके पनि रुसले प्रोक्सी–संघर्षमा सहयोग गर्न सक्छ । केही व्यक्तिहरूलाई आर्थिक सहयोग दिने, केही सशस्त्र समूहलाई समर्थन गर्ने वा प्रतिबन्ध छल्न मद्दत गर्ने त्यस्ता केही कदम हुन सक्छन् ।








प्रतिक्रिया