वर्तमान सरकारलाई चुनाव गराउने अधिकार छैन : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने अधिकार नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् ।

‘तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भनेका छन् । उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाए ।

‘अहिले शासन विधिको त कुरै छाडिदिउँ, व्यक्ति त अनधिकृत व्यक्ति, उत्पातबाट सिर्जना भएको सरकार बनेको छ । तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुस् ? यही हो लोकतन्त्र ?,’ ओलीले भनेका छन् ।

ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुने दाबी गरेका छन्।

उनले भने, ‘अब असंवैधानिक ढङ्गले भङ्ग भएको प्रतिनिधि सभाको अविलम्ब पुनर्स्थापना हुनुपर्दछ। हुन्छ पनि अब अर्को बाटो छैन। त्यही बाटोबाट देश अगाडि बढ्छ। प्रतिनिधि सभा पुनर्स्थापना मात्रै देशको सही समाधान हो। को डराउँछ कसको सातो जान्छ त्यो बेग्लै कुरा हो।’

उनले पार्टीपंक्तिलाई प्रतिनिधि पुनर्स्थापनाको पक्षमा लाग्न निर्देशन दिए। उनले प्रतिनिधि सभा अनधिकृत, असंवैधानिक र अलोकतान्त्रिक सिफारिसमा विघटन भएको दाबी गरे।

ओलीले प्रधानमन्त्री सुशीला कार्कीको बारेमा दुर्गा प्रसाईले सार्वजनिक गरेको क्यासेटबारे जवाफ मागेका छन्।

ओलीले प्रधानमन्त्री कार्कीले नेताहरूविरुद्ध बोलेको अडियो सार्वजनिक भएकोमा आक्रोश व्यक्त गरे।
उनले प्रसाईंलाई पक्राउ गर्नुको साटो क्यासेटको सत्यता छानबिन गर्नुपर्ने बताए।

ओलीले ‘कस्तो कस्तो मान्छेलाई विगतमा प्रधानन्यायाधीश र अहिले प्रधानमन्त्री बनेछन्’ भन्दै आक्रोश पोखे ।

‘दुर्गा प्रसाईंको अरू के हो म जान्दिनँ । उनले निकालेको क्यासेटको सम्बन्धमा नेपाली जनतालाई सरकारले बताउनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीले त्यो क्यासेट के हो बताउनुपर्छ ?’

जेनजी आन्दोलनकै बेला हेलिकप्टर उडेको देखिएकै बेला उक्त क्यासेटमा प्रधानमन्त्री कार्कीको गैरजिम्मेवार अभिव्यक्ति सुनिएको उनको भनाइ छ ।

उनले भने, ‘सेनाले नेताहरूलाई बचायो भन्दा किन बचाउने भन्ने पूर्वप्रधानन्यायाधीश र अहिले असंवैधानिक प्रधानमन्त्रीको आवाज सुनिन्छ, त्यो के हो ?’ त्यो क्यासेट बाहिर ल्याएकै कारण प्रसाईंलाई पक्राउ गरिएको ओलीको आरोप छ । ‘मान्छे गिरफतार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनुपर्छ’, ओलीको भनाइ थियो ।