
एजेन्सी । अमेरिकाले भारतलाई एफजीएम–१४८ ‘जाभेलिन’ एन्टी–ट्यांक क्षेप्यास्त्र प्रणाली र एम९८२ए१ ‘एक्स्क्यालिबर’ प्रिसिजन–गाइडेड तोप गोलाबारुद उपलब्ध गराउने दुई ठूला सैन्य बिक्री प्रस्तावलाई स्वीकृति दिएको छ ।
यी दुई सम्झौताहरूको मूल्य करिब ९ करोड ३० लाख अमेरिकी डलर हुने अनुमान गरिएको छ ।
डिफेन्स सिक्योरिटी कोअपरेशन एजेन्सी (डीएससीए) ले प्रस्तावित बिक्रीबारे अमेरिकी संसद्लाई आवश्यक सूचना पठाइसकेको छ ।
एजेन्सीका अनुसार, प्याकेजमा ४ करोड ७१ लाख डलर मूल्य बराबरका एक्स्क्यालिबर प्रोजेक्टाइल र सम्बन्धित उपकरण तथा ४ करोड ५७ लाख डलर बराबरका जाभेलिन मिसाइल प्रणाली र हार्डवेयर समावेश छन् ।
डीएससीएले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘यस प्रस्तावित बिक्रीले अमेरिकाका विदेशनीति तथा राष्ट्रिय सुरक्षासम्बन्धी उद्देश्यहरूलाई सहयोग गर्नेछ । यसले अमेरिकासँग भारतको रणनीतिक सम्बन्ध मजबुत बनाउनेछ र हिन्द–प्रशान्त तथा दक्षिण एसियामा राजनीतिक स्थिरता, शान्ति र आर्थिक प्रगतिमा योगदान गरिरहेको महत्त्वपूर्ण रक्षा साझेदारको सुरक्षा क्षमतालाई बढी प्रभावकारी बनाउनेछ ।’ यस बिक्रीले क्षेत्रीय सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने एजेन्सीले स्पष्ट गरेको छ ।
डीएससीएका अनुसार, भारतले २१६ वटा एम९८२ए१ एक्स्क्यालिबर ट्याकटिकल प्रोजेक्टाइल खरिद गर्ने अनुरोध गरेको छ । भर्जिनिया, आर्लिङ्टन–स्थित आरटीएक्स कर्पोरेशनलाई मुख्य ठेकेदारको रूपमा तोकिएको छ । हालसम्म यो बिक्रीमा कुनै अफसेट सम्झौता गरिएको छैन । यस्ता व्यवस्था भारत र ठेकेदारबीच पछि सहमति हुने एजेन्सीले जनाएको छ ।
सटीक प्रहारका लागि आवश्यक यी राउन्डहरूसँगै प्याकेजमा पोर्टेबल इलेक्ट्रोनिक फायर कन्ट्रोल सिस्टम तथा ‘इम्प्रुभ्ड प्लाटफर्म इन्भिग्रेसन किट’, प्राइमरहरू, प्रोपेलन्ट चार्ज, अमेरिकी सरकारको प्राविधिक सहयोग, प्राविधिक डाटा, मर्मत–फिर्ता सेवाहरू, लजिस्टिक तथा कार्यक्रम सहयोगजस्ता रक्षा सामग्रीहरू पनि समावेश छन् ।
यस खरिदले भारतलाई वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक ‘प्रिसिजन’ क्षमतामा वृद्धि गर्नेछ ।
यसले भारतका ब्रिगेडहरूको पहिलो प्रहार सटीकता उल्लेखनीय रूपमा बढाउनेछ । साथै, यी प्रणालीहरू भारतको विद्यमान सैन्य संरचनामा सहजै समायोजन गर्न सकिने बताइएको छ ।
यो सम्झौता कार्यान्वयनका लागि भारतमा थप अमेरिकी सरकारी वा ठेकेदार कर्मचारी तैनाथ गर्न आवश्यक नपर्ने र “अमेरिकी रक्षा तयारीमा कुनै नकारात्मक प्रभाव नपर्ने” डीएससीएले स्पष्ट पारेको छ ।
भारतले १०० एफजीएम–१४८ जाभेलिन मिसाइल, एउटा ‘फ्लाइ–टु–बाइ’ जाभेलिन मिसाइल र २५ वटा ‘लाइटवेट कमान्ड लन्च युनिट’ वा ‘ब्लक–१ कमान्ड लन्च युनिट’ पनि माग गरेको छ । बिक्रीमा प्रशिक्षण सामग्री, सिमुलेसन राउन्ड, ब्याट्री कूलेन्ट युनिट, प्राविधिक पुस्तिका, सञ्चालन कागजात, जीवनचक्र सहयोग, उपकरण किट, मर्मत–सम्भार सहयोग तथा अन्य लजिस्टिक तत्त्वहरू पनि समावेश छन् ।
यस प्रस्तावित बिक्रीले भारतलाई वर्तमान तथा भविष्यका खतरा सामना गर्ने क्षमता बलियो बनाउनेछ, उसको होमल्यान्ड सुरक्षा मजबुत पार्नेछ र क्षेत्रीय जोखिमहरूको प्रतिरोध क्षमतामा वृद्धि गर्ने डीएससीएको भनाइ छ । भारतले यी सामग्रीलाई आफ्नो सशस्त्र बलमा समायोजन गर्न कुनै कठिनाइ भोग्नु पर्ने छैन ।
अमेरिकी सरकारका अनुसार, यो लेनदेन वाशिङटनको दीर्घकालीन रणनीतिक उद्देश्यसँग मेल खान्छ । भारतसँग रक्षा साझेदारी गहिरो बनाउने अमेरिकाको उद्देश्य हो । त्यसैअनुरूप भारत आफ्नो सैन्य आधुनिकीकरण र लामो दूरीका ‘प्रिसिजन–स्ट्राइक’ क्षमताहरू विस्तार गरिरहेको छ ।








प्रतिक्रिया