
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उन्नत उत्पादन परियोजनाहरू विकास गर्न अमेरिकाले दक्ष विदेशी कामदारहरूलाई स्वागत गर्नुपर्ने बताएका छन् ।
यसो गर्दा आफ्ना समर्थकहरूबाट आलोचना आए पनि सहने उनको भनाइ छ ।
बुधबार साउदी युवराज मोहम्मद बिन सलमान पनि सहभागी रहेको अमेरिकी–साउदी लगानी फोरममा बोल्दै ट्रम्पले देशभर चिप, टेलिफोन, मिसाइलजस्ता उच्चस्तरीय उपकरण बनाउने नयाँ उद्योगहरू निर्माण भइरहेको बताए । उनका अनुसार, यस्ता उद्योग सञ्चालनका लागि विशेष सीप भएका विदेशी विज्ञहरू आवश्यक हुन्छन् । तिनले अमेरिकी कामदारलाई तालिम दिने उनले बताए ।
ट्रम्पले भने, ‘म यसका लागि आलोचित हुन सक्छु । मलाई माया गर्ने मैले माया गर्ने आफ्नै मानिसहरूबाट केही आलोचना पाउँछु ।’
अर्बौं डलर लगानी गरेर कारखाना बनाउने कम्पनीलाई दक्ष विदेशी कर्मचारी ल्याउन दिनैपर्ने ट्रम्पले जोड दिँदै भने ।
‘उनीहरूले हजारौं मानिस ल्याउनुपर्नेछ र म तिनीहरूलाई स्वागत गर्नेछु,’ उनले भने ।
उनका अनुसार, अमेरिका उन्नत निर्माणमा आत्मनिर्भर हुनुभन्दा पहिले यस्ता विज्ञहरूबाट सिक्नैपर्छ । ‘हामीले अर्बौं डलर लगानी गर्ने कम्पनीहरूलाई दक्ष मानिस ल्याउन दिएनौं भने सफल हुन सक्दैनौं,’ ट्रम्पले भने । त्यसपछि दर्शकहरूले ताली बजाए ।
जर्जियामा रहेको ह्युन्डाई ब्याट्री कारखानाको उदाहरण दिँदै ट्रम्पले विदेशको ठूलो लगानी र दक्ष जनशक्तिको आवश्यकता रहेको बताए । त्यहाँ हाल छापा मारेर केही विदेशी कामदारलाई गिरफ्तार गरिएको थियो ।
‘उनीहरूले एक अर्ब डलर लगानी गरेर कारखाना बनाए, तर तिनीहरूलाई ‘बाहिर जाऊ’ भनियो । मैले ‘रोक, मूर्खता नगर’ भनें । हामीले कुरा मिलायौं र अब उनीहरूले हाम्रा मानिसलाई प्रशिक्षण दिइरहेका छन्,’ ट्रम्पले बताए ।
ट्रम्पका अनुसार, अमेरिकामा अहिले प्राविधिक सीपको कमी छ । एच१–बी तथा एल–१ जस्ता भिसा कार्यक्रमहरू अन्तर्राष्ट्रिय विज्ञता चाहिने उद्योगका लागि अत्यावश्यक छन् । तर, ट्रम्पको प्रशासन अवैध आप्रवासन र भिसा दुरुपयोगका विरुद्ध कडा रहँदै आएको छ ।
हालैको टेलिभिजन अन्तर्वार्तामा आफ्नो धारणा बचाउ गर्दै ट्रम्पले भने, ‘हामीले निश्चित क्षेत्रका लागि विश्वभरका दक्ष मानिसहरू ल्याउनैपर्छ । बेरोजगार मानिस ल्याएर ‘अब मिसाइल बनाऊ’ भनेर त भन्न सकिँदैन नि ।’
समर्थकहरूलाई सम्बोधन गर्दै उनले यो नीति नै मेक अमेरिका ग्रेट अगेनको लक्ष्यसँग मेल खाने बताए । ‘म मागालाई मन पराउँछु, तर यो नै मागा हो,’ उनले भने । ‘कारखाना चलाउने तपाईंहरूले आवश्यक सबै सहयोग पाउनुहुनेछ र तपाईंहरूले हाम्रा मानिसलाई काम सिकाउनुहुनेछ ।’








प्रतिक्रिया