
बुटवल । सुप्रिम सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।
गत हप्ता उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुल मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएपछि आज दुवै प्रतिवादीको मुद्दा एकैसाथ हेर्न पेसी चढाइएको हो।
सहकारीमा भएको अपचलनबापतको रकम दाखिला गरेपछि थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दिए पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो।
लामिछानेले १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगोमध्ये आफ्नो एक–चौथाइ बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानतवापत पेस गरेका थिए। छविलाल जोशीले पनि सोही बराबर जमानत पेस गरेका छन्। तर व्यक्तिगत बिगो यकिन नभएको भन्दै दुवैलाई रिहा नहुने निर्णय जारी गरिएको थियो ।
यसैबीच, जेन–जी प्रदर्शनका क्रममा उच्च अदालत, बुटवल परिसरमा तोडफोड र आगजनी हुँदा पनि लामिछाने–जोशीको फाइल सुरक्षित रहेको अदालतले जनाएको छ ।
हाल लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमै रहेका छन्। आजको पेसीमा दुवै पक्षका कानुन व्यवसायी बहसका लागि तयारी अवस्थामा रहेका छन्।







प्रतिक्रिया