
एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले मानवता विरुद्धको अपराधको अभियोगमा त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले आफूलाई अनुपस्थितमै मृत्युदण्ड सुनाएपछि कडा प्रतिक्रिया जनाएकी छन् ।
यो फैसला अवैध सरकारका उग्रपन्थी व्यक्तिहरूको नांगो र हत्यारा मनसाय देखाउने घटना भएको उनले बताइन् ।
हसिनाले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आफ्नो पार्टी अवामी लिग र आफूलाई प्रतिरक्षा गर्न निष्पक्ष अवसर नदिइएको भनी अदालतको आलोचना गरिन् । उनले ट्रिब्युनलका सदस्यहरूलाई पक्षपातीको संज्ञा दिँदै न्यायाधीश र सरकारी वकिलहरूले बहालवाला सरकारप्रति सार्वजनिक रूपमा सहानुभूति व्यक्त गरेको बताइन् ।
“ममाथि लगाइएका सबै आरोपहरू म पूर्ण रूपमा अस्वीकार गर्छु । गत वर्ष जुलाई–अगस्टमा भएको सबै मृत्युप्रति म दुःखी छु । तर मैले र अन्य कुनै पनि राजनीतिक नेताले प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिएका थिएनन्,’ शेख हसिनाले बताइन् ।
‘मलाई अदालतमा आफ्नो प्रतिरक्षा गर्ने कुनै निष्पक्ष अवसर दिइएन, न त आफ्नो छनोटका वकिलहरूलाई अनुपस्थितमै प्रतिनिधित्व गर्ने अधिकार दिइयो । यसको नाम ‘अन्तर्राष्ट्रिय’ भए पनि आईसीटीमा कुनै अन्तर्राष्ट्रियपन छैन । यो निष्पक्ष पनि छैन,’ उनले फैसलापछि जारी गरिएको वक्तव्यमा धाँधलीपूर्ण कारबाहीको कडै आलोचना गर्दै भनिन् ।
हसिनाले तीन निर्विवाद तथ्य औंल्याइन् । पहिले आफूप्रति सहानुभूति देखाएका वरिष्ठ न्यायाधीश वा वरिष्ठ अधिवक्ताहरूलाई हटाइयो वा धम्क्याएर मौन बनाइयो । आईसीटीले अवामी लिगका सदस्यहरूलाई मात्र अभियोजन गरिरहेको छ । धार्मिक अल्पसंख्यक लगायतमाथि गरिएका हिंसाका घटनामा संलग्न अन्य दलका व्यक्तिहरूलाई अनुसन्धान र अभियोजन गरिएन ।
अन्तरिम सरकारप्रमुख मोहम्मद युनुसको अराजक, हिंसात्मक र सामाजिक रूपमा प्रतिगामी प्रशासनमा दुःख भोगिरहेका लाखौं बंगलादेशी मूर्ख नबन्ने उनको भनाइ छ ।
‘आईसीटीका यी कथित सुनुवाइहरू न्यायका लागि होइनन् । अवामी लिगलाई बलिको बोका बनाउने र युनुसका विफलताबाट संसारको ध्यान हटाउने यसको उद्देश्य हो,’ उनले भनिन् ।
‘यी सबै कुरा अन्तर्राष्ट्रिय मिडिया, गैरसरकारी संस्था र आईएमएफ जस्ता गैरपक्षपाती संस्थाहरूले पुष्टि गरिसकेका छन् । बंगलादेशको एकजना नागरिकले पनि युनुसलाई भोट दिएको छैन,’ उनले थपिन् ।
हसिनाले आफू निष्पक्ष रूपमा प्रमाण तौलिने न्यायालयमा आफूमाथिका आरोपहरूको सामना गर्न नडराउने बताइन् ।
‘त्यसैले मैले बारम्बार अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा यी आरोपहरू पेश गर्न चुनौती दिँदै आएकी छु,’ उनले भनिन् ।
तीन सदस्यीय आईसीटीको नेतृत्व न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारले गरेका छन् । उनले हसिना र उनका दुई सहयोगी पूर्व गृहमन्त्री असदुज्जामान खान कमाल र पूर्व प्रहरी प्रमुख चौधरी अल–मामुनलाई गत वर्षको विद्यार्थी आन्दोलनमाथि भएको हिंस्रक दमनका लागि आदेश दिएको लगायत तीन मुद्दामा दोषी ठहर गरेको छ ।








प्रतिक्रिया