दिल्ली बम विस्फोटमा संलग्न आतंकवादीले नेपालमा ७ वटा मोबाइल फोन किनेको खुलासा

9.8k
Shares

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा अघिल्लो सोमबार १३ जनाको मृत्यु हुने गरी भएको विस्फोटका विषयमा अनुसन्धान चलिरहेको छ ।

आतंकवादीहरूको समूहले मोबाइल फोन नेपालबाट र सिमकार्ड उत्तर प्रदेशको कानपुरबाट किनेको अनुसन्धानमा खुलेको छ ।

स्रोतहरूका अनुसार, विस्फोटको व्यवस्थापनका लागि नेपालबाट सातवटा सेकेन्ड–ह्यान्ड मोबाइल फोन आतंकवादीहरूले किनेका थिए । त्यसका साथै १७ वटा सिमकार्ड प्रयोग गरिएको थियो । त्यसमध्ये ६ वटा सिमकार्ड कानपुरमा किनिएका थिए ।

यी सिममध्ये दुईवटाको दर्ता कानपुरको बेकनगञ्ज क्षेत्रमा भएका परिचयपत्र प्रयोग गरेर गरिएको पत्ता लागेको छ । यसका आधारमा सुरक्षासम्बन्धी निकायहरूले तत्काल कारबाही सुरु गरेका छन् ।

तीनजना चिकित्सकहरू विस्फोट गराउने मुख्य आरोपित डा उमर मोहम्मदसँग विस्फोट हुनुभन्दा एक घण्टा अगाडिसम्म सम्पर्कमा रहेको अनुसन्धानमा खुलाइएको छ । उमरले ह्युन्डाइ आई२० कारमा राखिएको बम लालकिला नजिक विस्फोट गराएको थियो ।

डा परवेज, डा मोहम्मद आरिफ र डा फारुक अहमद दारले उमरसँग सम्पर्क गरेका थिए ।

डा परवेज दिल्ली विस्फोट मामिलामा पक्राउ परेकी डा शाहिन सईदका दाजु हुन् । डा परवेज लखनउको इन्टेग्रल युनिभर्सिटीमा सहप्राध्यापक हुन् ।

डा मोहम्मद आरिफ कानपुरको सरकारी जीएसभीएम मेडिकल कलेजमा आबद्ध छन् । उनी शुक्रबार पक्राउ परेका थिए ।
डा फारुक अहमद दार जीएस मेडिकल कलेजका सहप्राध्यापक हुन् ।

डा शाहिन र डा मुजम्मिल पनि नोभेम्बर ८ को बिहानसम्म आरोपित उमरसँग प्रत्यक्ष सम्पर्कमा थिए ।

स्रोतहरूका अनुसार, आरोपितहरूले चार हप्तासम्म विस्फोट योजनाको तयारी गरेका थिए । योजना अक्टोबर २ मा सुरु भएको थियो र अक्टोबर २८ मा त्यसलाई अन्तिम रूप दिएको बताइएको छ ।

दिल्ली पुलिसको स्पेशल सेलले बेकनगञ्जमा कपडा पसल सञ्चालन गर्ने र डा परवेजका साला उसमानलाई ६ घण्टासम्म सोधपुछ गरेको थियो । तर, अहिलेसम्म कुनै महत्त्वपूर्ण जानकारी नआएको स्रोतले जनाएको छ ।