रुसको बुरेभेस्तनिक क्रुज क्षेप्यास्त्र नेटोका लागि खतरा भएको पश्चिमी गुप्तचर निकायहरूको मूल्यांकन


एजेन्सी । रुसले बनाएको आणविक ऊर्जाबाट सञ्चालित बुरेभेस्तनिक क्रुज क्षेप्यास्त्र नेटोको प्रतिरक्षा प्रणालीका लागि गम्भीर खतरा बन्न सक्ने पश्चिमका गुप्तचर निकायहरूले मूल्यांकन गरेका छन् ।

यो जानकारी जर्मन समाचारमाध्यम डाई वेल्टले नेटोको गोप्य कागजातको अध्ययनपछि खुलासा गरेको हो ।

नेटोले स्काईफल नाम दिएको यो क्षेप्यास्त्र घन्टाको ९०० किलोमिटरभन्दा धेरै गतिमा उड्न सक्छ । नेटोको गुप्तचर विभागका अनुसार, यो क्षेप्यास्त्र अत्यधिक चलायमान छ र मोबाइल प्लेटफर्मबाट प्रक्षेपण गर्न सकिन्छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले तीन हप्ताअघि क्षेप्यास्त्रको सफल परीक्षण भएको घोषणा गरेका थिए ।

यस मिसाइलको आणविक रिएक्टरले यसलाई सैद्धान्तिक रूपमा असीमित दायरा प्रदान गर्छ । नेटोका अनुसार, यसले दसौं हजार किलोमिटर उडान भर्न सक्छ, लामो समयसम्म आकाशमै रहन सक्छ, मार्ग परिवर्तन गर्न सक्छ र कुनै पनि दिशाबाट लक्ष्यमा आक्रमण गर्न सक्छ ।

नेटोको दस्तावेजमा भनिएको छ, ‘अत्यधिक दायरा र चलायमानताले विद्यमान चुनौतीहरूलाई झनै जटिल बनाउनेछ ।’ क्षेप्यास्त्रले दक्षिणतर्फ वा ध्रुवीय क्षेत्रजस्ता कम निगरानी भएका आकाशमार्ग हुँदै लामो, अप्रत्यक्ष मार्ग प्रयोग गरी नेटोको हवाई सुरक्षालाई छलेर हमला गर्न सक्छ ।

नेटोको मूल्यांकन अनुसार, रुसले यो प्रणाली पूर्णरूपमा सञ्चालनमा ल्यायो भने युरोपका लागि ठूलो सुरक्षा चुनौती खडा हुनेछ किनकि यसलाई रोक्न गर्न कठिन छ ।

तर, यस मिसाइलको हाइपरसोनिक गति नपुग्ने भएकाले लामो समय आकाशमै रहँदा यसको कमजोरी अझ प्रस्ट देखिने कतिपय विज्ञहरूको तर्क छ ।

नेटो विज्ञहरूले रुसको अर्को नयाँ चलायमान मध्यम दायराको क्षेप्यास्त्र ओरेश्निक पनि अध्ययन गरिरहेका छन् । यसलाई पहिलोपटक नोभेम्बर २०२४ मा युक्रेनमा परीक्षण गरिएको थियो । पश्चिमी विज्ञहरू यसको ५५ सय किलोमिटर दायरा र आणविकसहित विभिन्न प्रकारका वारहेड राख्न सक्ने सम्भावनाबारे चिन्तित छन् ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्काका प्रवक्ता नतालिया इस्मोन्तका अनुसार, बेलारुसले डिसेम्बर महिनामा ओरेश्निक हाइपरसोनिक मध्यम दायराको क्षेप्यास्त्र तैनाथ गर्दैछ । लुकाशेन्काले यो कदम पश्चिमी उत्तेजनाको जवाफमा चालिएको हो ।

नेटोको दस्तावेजले आणविक क्षमतासहितको पोसाइडन पनडुब्बी ड्रोनलाई पनि गम्भीर समस्या भएको देखाएको छ । यो प्रणाली सन् २०३० सम्म पूर्णरूपमा सञ्चालनमा आउने अनुमान छ । यसले प्रशान्त क्षेत्र, अमेरिकाको पूर्वी तट, बेलायत र फ्रान्सका बन्दरगाह, जलसैनिक आधार र तटीय शहरहरू नष्ट गर्न सक्ने क्षमताका साथ डिजाइन गरिएको मानिन्छ ।

दस्तावेजका अनुसार, पोसाइडन बोक्ने पनडुब्बीहरू गहिरा समुद्रमा सञ्चालन गर्दा पत्ता लगाउन र नष्ट गर्न अत्यन्त कठिन हुनेछन् । पोसाइडनलाई प्रभावकारी रूपमा रोक्न सकिने एन्टी–सबमरीन टर्पिडो नेटोसँग छैन ।

नेटोका विशेषगरी मध्यम र लामो दायराका क्षमतामा महत्त्वपूर्ण कमजोरीहरू रहेको दस्तावेजले स्पष्ट पार्छ ।

सन् २०१९ मा बुरेभेस्तनिक परीक्षणका क्रममा रुसका पाँच वैज्ञानिकको मृत्यु भएको थियो र केही कामदारहरू समुद्रमा खसेका थिए । त्यसपछि आसपासको क्षेत्रमा रेडिएशन स्तर वृद्धि भएको रिपोर्ट आएको थियो । रेडिएशनकै कारण मृत्यु भएको हो कि होइन भन्ने पुष्टि भएको छैन ।

संयुक्त राज्य अमेरिकाले सन् १९५० को दशकमै आणविक रिएक्टर र आणविक हतियार एकसाथ प्रयोग गर्ने अवधारणालाई जोखिमका कारण अस्वीकार गरेको थियो ।