बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना दोषी ठहर, मृत्युदण्डको फैसला

2.7k
Shares

एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई इन्टरनेशनल क्राइम्स ट्राइब्यूनल (आईसीटी) ले मानवताविरोधी अपराधमा दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको छ ।

सोमबार ढाकामा आईसीटीले फैसला सुनाउँदै सन् २०२४ को जुलाई महिनामा भएको विद्यार्थी आन्दोलनमा हसिनाले निःशस्त्र प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिएर मानवताविरोधी अपराध गरेको जनाएको छ ।

उक्त आन्दोलनमा देशभरिबाट १५ सयजनाको ज्यान गएको थियो । ड्रोनमार्फत प्रदर्शनकारीहरू बसेको स्थान पत्ता लगाएको र घातक हतियार उपयोग गरेर उनीहरूको हत्या गरेकोमा उनलाई जिम्मेवार ठहर गरिएको हो । प्रदर्शनकारीमाथिको आक्रमण रोक्न प्रयास नगरेकोमा पनि उनलाई दोषी ठहर गरिएको छ ।

ट्राइब्युनलका अध्यक्ष न्यायाधीश मोहम्मद गोलाम मुर्तुजा मोजुम्दारले कडा सुरक्षाबीच फैसला सुनाएका छन् ।

आफ्ना विरोधीहरूमाथि चरम मानवअधिकार उल्लंघन गरेको आरोपमा पनि हसिनालाई कसूरदार ठहर गरिएको छ ।

पूर्व गृहमन्त्री असादुज्जमान खान कमाल र पूर्व प्रहरीले महानिरीक्षक चौधरी अब्दुल्लाह अल–ममुनलाई पनि जुलाई विद्रोहका बेला मानवताविरोधी अपराध गरेकोमा दोषी ठहर्याइएको छ ।

पूर्व गृहमन्त्री असादुज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय दिइएको छ । पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल–ममुनलाई पनि जुलाई विद्रोहका बेला मानवताविरोधी अपराध गरेकोमा दोषी ठहर्याइएको छ तर उनले पुर्पक्षमा सहयोग गरेकाले उनलाई पाँच वर्षको कैद सजाय सुनाइएको छ ।

शेख हसिना र असदुज्जमान खान कमालको बंगलादेशमा रहेका सम्पत्ति जफत गरी सरकारी स्वामित्वमा राख्ने आदेश पनि दिइएको छ ।

जुलाई विद्रोहमा मारिएका परिवारलाई यथोचित क्षतिपूर्ति दिनका लागि पनि अदालतले सरकारलाई आदेश दिएको छ ।