
एजेन्सी । बंगलादेशमा निवर्तमान प्रधानमन्त्री शेख हसिनामाथिको ‘मानवताविरुद्धको अपराध’ सम्बन्धी मुद्दाको फैसला सोमबार आउँदैछ ।
फैसलाअघि हसिनाले आफ्ना समर्थकहरूलाई सन्देश पठाएर आफ्नो पार्टी अवामी लिगलाई नष्ट गर्नु सजिलो नभएको बताइन् । यो माटो र जनताबाट पालितपोषित पार्टी भएको र अवैध रूपमा शक्ति हत्याउने व्यक्तिको लहडमा भंग नहुने उनको भनाइ छ ।
यसैबीच शेख हसिनाका छोरा सजीब वाजेदले आमालाई दोषी ठहर गरिने बताएका छन् । तर, त्यस अवस्थामा देशमा स्थिरता नहुने उनको भनाइ छ ।
हसिनाले यसै सन्देशमा आफूमाथि लगाइएका सबै आरोपहरू झूटो भएको दाबी गर्दै बंगलादेशको अन्तरिम सरकार र नोबेल विजेता मुहम्मद युनुसले अवैध र असंवैधानिक रूपमा सत्ता कब्जा गरेको बताइन् ।
हसिनाले आफ्ना समर्थकहरूलाई पठाएको अडियो सन्देशमा भनिन्, ‘उनीहरू अवामी लिगलाई राजनीतिमा संलग्न हुनै दिन चाहँदैनन् । उनीहरू अवामी लिगलाई प्रतिबन्धको घोषणा गर्छन् । अवामी लिगलाई चुनाव लड्न नदिने चाहना राख्छन् । नेता र कार्यकर्तामाथि दमन गरेर पार्टीलाई नष्ट गर्न चाहन्छन् । तर, यो सजिलो छैन । अवामी लिग माटो र जनताबाट पालितपोषित पार्टी हो । यो कुनै अवैध शक्ति हासिल गर्ने व्यक्तिको लहडमा भंग हुँदैन ।’
‘हामीले लाखौं शहीदको रगतको मूल्यमा स्वतन्त्रता प्राप्त गरेका हौं । तैपनि उनीहरूले मेराविरुद्ध मुद्दा दर्ता गरेका छन् । तपाईंहरूलाई थाहा छ, मेरो विरुद्ध लगाइएका सबै आरोपहरू झूटा हुन्,’ उनले थपिन् ।
गत वर्ष बंगलादेशमा भएको विद्यार्थी आन्दोलनले हसिनाको सरकारलाई ढालेर उनलाई भारत निर्वासनमा जान बाध्य तुल्याएको थियो । त्यसबारे बोल्दै हसिनाले आफ्नो सरकारले विद्यार्थीहरूका सबै माग स्वीकार गरेको दाबी गरिन् ।
‘माग स्वीकार गरिसकेपछि अचानक नौ बुँदे माग सुनियो । हामीले यसमाथि विचार गर्ने बतायौं । त्यसपछि एक बुँदे माग आयो । त्यसले के देखाउँछ ? देशमा अराजकता ल्याउने प्रयास । सामाजिक–आर्थिक विकास नष्ट गर्ने खेल । देशलाई विनाशतर्फ धकेल्ने प्रक्रिया,’ उनले भनिन् । हत्याको मुद्दा अवामी लिगमाथि लगाइए पनि खासमा हत्या मुहम्मद युनुस र उनका समूहले गरेको उनले आरोप लगाइन् ।
हसिनाको पतनपछि प्रदर्शनकारीहरूले राष्ट्रपति भवन गणभवनमा छिरेर लुटपाट गरेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
त्यसबारे बोल्दै उनले आफ्नो सम्पत्ति लुटिएको र जलाइएको तर उपद्रो र आतंकवादबाट क्रान्ति नहुने बताइन् ।
‘गणभवन मेरो व्यक्तिगत घर होइन, यो त सरकारी सम्पत्ति हो । तैपनि उनीहरूलाई त्यति धेरै किन रिस उठेको ? उनीहरूले क्रान्ति सुरु गरेका हुन् ? कस्तो क्रान्ति ? उपद्रो, आतंकवाद र उग्रवादी गतिविधिले क्रान्ति हुँदैन,’ उनले बताइन् ।
यस्ता मुद्दाहरूले आफूलाई चिन्तित नबनाउने हसिनाले बताइन् ।
‘यो जीवन अल्लाहले दिनुभयो; एक दिन अल्लाहले नै फिर्ता लिनुहुन्छ । तर, म देश र जनताका लागि काम गरिरहेकी छु र काम गरिरहनेछु,’ उनले भनिन् ।








प्रतिक्रिया