
काठमाडौं । भारत र नेपालबीच रेलमार्गीय व्यापार सञ्जाल र पारवहन (ट्रान्जिट) सहज बनाउन नयाँ सम्झौता भएको छ।
भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाबीच नयाँ दिल्लीमा द्विपक्षीय बैठक सम्पन्न हुँदै उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
भारतको बिशाखापट्टनममा आयोजित ३० औं पार्टनरशीप समिट २०२५ मा सहभागी हुन पुगेका मन्त्री सिन्हा र भारतीय समकक्षी गोयलबीच दिल्लीम भेंटवार्ता भएको थियो ।
त्यहि क्रममा नेपाल र भारतबीच सम्पन्न पारवहन सन्धिको प्रोटोकलका संशोधन गरी कोलकात्ता र बिशाखापट्टनमबाट बिराटनगर तथा जोगवनीसम्म तथा कोलकात्ता बिशाखापट्टनमबाट नौतनवा(सुनौली) सम्म रेलमार्फत र त्यहाँबाट भैरहवासम्म सडकमार्ग प्रयोग गरी सबै प्रकारको कार्गो ढुवानी गर्न पाउने गरी विद्यमान पारवहन सन्धिको प्रोटोकलमा संशोधन गर्ने बिषयमा लेटर अफ एक्सचेन्ज(एलओई) आदान प्रदान भएको थियो ।
मन्त्री सिन्हाका अनुसार विगतमा उत्त दुवै नाकाबाट रेलमार्फत चारवटा कार्गो सामान मात्रै ढुवानी गर्न पाउने व्यवस्था रहेकोमा पारवहन सन्धिको प्रोटोकलमा भएको पछि संशोधनबाट सबै प्रकारको कार्गो ढुवानी गर्न सकिने र यसबाट नेपालको पारवहन लागत र समयमा बचत भएर व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।
यसले नेपाल–भारतबीचको बहुआयामिक व्यापारिक सम्पर्कलाई थप सबल बनाउने र नेपालको तेस्रो देशहरूसँगको व्यापारलाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
यस सम्झौताले भारतको जोगबनी–नेपालको विराटनगर रेलमार्ग हुँदै रेलमार्गबाट मालसामान (फ्रेट) आवागमनलाई सहज बनाउनेछ। यसले ठूला तथा थोक मालसामान पनि समेट्ने गरी रेलमार्गीय पारवहनको दायरा विस्तार गरेको छ।
उक्त लेटर अफ एक्सचेन्ज मार्फत अब जोगबनी–विराटनगर रेलमार्ग मार्फत कन्टेनरयुक्त र थोक दुवै प्रकारका मालसामान भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहहरूबाट सिधै नेपालको मोरङ जिल्लास्थित भन्सार यार्डसम्म पुग्न सक्नेछन्।
भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको यो रेलमार्ग सन् २०२३ जुन १ मा नेपाल र भारतको प्रधानमन्त्रीद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको थियो।
बैठकमा दुई देशबीच सीमापार पूर्वाधार विकास र व्यापार सहजताका अन्य प्रयासहरू, जस्तै एकीकृत जाँच चौकी र सम्बन्धित पूर्वाधार निर्माणबारे समेत छलफल भएको थियो।

भारत अहिले पनि नेपालको सबैभन्दा ठूलो व्यापारिक र लगानी साझेदार बनेको छ, जसले नेपालको बाह्य व्यापारमा महत्वपूर्ण हिस्सा ओगटेको छ। नयाँ सम्झौताबाट दुबै देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा नेपालको तर्फबाट भारतका लागि महामहिम राजदूत डा.शंकर शर्माको समेत उपस्थिति थियो ।








प्रतिक्रिया