
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको लाल किल्ला नजिक बम विस्फोटमा १३ जनाको ज्यान गएपछि भारतीय सुरक्षाकर्मीहरूले नेपाल सीमामा सुरक्षा व्यवस्था कडा पारेका छन् ।
सुनौली, ठूठीबारी र अन्य सीमाक्षेत्रमा सतर्कता बढाइएको छ । स्थानीय थाना प्रहरी र सशस्त्र सीमा बलको संयुक्त टोलीले सीमामा तैनाथी बढाएको छ ।
सीमा वारपार गर्ने प्रत्येक व्यक्ति र गाडीको व्यापक खानतलाशी गर्न थालिएको छ । प्रहरीको कुकुर पनि यसमा उपयोग गरिएको छ । साना बाटा र दुर्गम क्षेत्रमा पनि निगरानी बढाइएको छ । शंकास्पद गतिविधि देखिएमा तत्काल कारवाही गर्नका लागि निर्देशन दिइएको छ ।
उत्तर प्रदेशको सुरक्षाबल सीमामा सबै प्रकारका जोखिमको सामना गर्नका लागि तयारी अवस्थामा बसेको अपर प्रहरी अधीक्षक सिद्धार्थले बताएको भनी जागरण पत्रिकाले समाचार लेखेको छ । बस स्ट्यान्ड, होटल, ढाबा, मुख्य चोक र भीडभाड भएका ठाउँमा सूक्ष्म जाँचपडताल गरिँदैछ ।
संवेदनशील सूचना तत्काल साझा गर्नका लागि स्थानीय सूचना इकाइ (एलआईयू) लाई पूर्ण सतर्क अवस्थामा राखिएको छ ।
सीमा क्षेत्रमा शंकास्पद व्यक्ति वा वस्तु देखिएमा तत्काल प्रहरीलाई सूचना दिनका लागि सुरक्षा निकायहरूले सर्वसाधारणलाई आह्वान गरेका छन् ।








प्रतिक्रिया