भुटानमा मोदीले गरे कालचक्र सशक्तीकरण समारोहको उद्घाटन

49
Shares

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भुटानमा भइरहेको ‘ग्लोबल पिस प्रेयर फेस्टिभल’ अन्तर्गत आयोजित ‘कालचक्र सशक्तीकरण’ समारोहको उद्घाटन गरेका छन् ।

कार्यक्रममा भुटानका राजा जिग्मे खेसर नामग्येल वाङ्चुक र पूर्वराजा जिग्मे सिंगे वाङचुक पनि सहभागी थिए ।

‘भुटानका महामहिम राजा जिग्मे खेसर नामग्येल वाङचुक र चौथो द्रुक ग्याल्पो महामहिम जिग्मे सिंगे वाङचुकसँगै ‘कालचक्र सशक्तीकरण’ को उद्घाटन गर्ने सम्मान पाएको छु,’ प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा लेखे ।

‘यो समारोह महामहिम जे खेनपो (भुटानका सर्वोच्च धार्मिक गुरु) को अध्यक्षतामा सम्पन्न भएकोले अझ विशेष बन्यो,’ उनले थप लेखे ।

प्रधानमन्त्री मोदीका अनुसार, यो बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्तै महत्त्वपूर्ण धार्मिक अनुष्ठान हो र यसको सांस्कृतिक महत्त्व गहिरो छ । कालचक्र सशक्तीकरण समारोह विश्वभरका बौद्ध भक्त र विद्वानलाई भुटानमा एकत्रित बनाउने ‘ग्लोबल पिस प्रेयर फेस्टिभल’को एक प्रमुख अंश हो ।’

यसअघि प्रधानमन्त्री मोदीले भुटानका पूर्वराजा जिग्मे सिंगे वाङ्चुकसँग छुट्टै भेटवार्ता गरेका थिए । ‘चौथो द्रुक ग्याल्पोसँग अत्यन्तै रमाइलो भेट भयो,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘भारत–भुटान सम्बन्धलाई अझ मजबुत बनाउन उहाँले वर्षौंदेखि देखाउनुभएको प्रतिबद्धता र प्रयासको म प्रशंसा गर्दछु ।’

भेटवार्तामा दुवैले ऊर्जा, व्यापार, प्रविधि र पूर्वाधार सञ्जाल सम्बन्धी सहकार्यबारे छलफल गरे । प्रधानमन्त्री मोदीले गेलफु माइन्डफुलनेस सिटी प्रोजेक्टमा भएको प्रगतिलाई सराहना गर्दै यो परियोजना भारतको ‘एक्ट ईस्ट पलिसीसँग मेल खाने बताए ।

प्रधानमन्त्री मोदीले पूर्वराजालाई भारत–भुटानको विशेष मित्रता अझ सुदृढ बनाउन दिएको मार्गदर्शन र सुझावका लागि धन्यवाद ज्ञापन गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ । उनले भारत सरकार र जनताको तर्फबाट पूर्वराजालाई दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको शुभकामना पनि व्यक्त गरे ।

प्रधानमन्त्री मोदी दुईदिने भुटान भ्रमणमा छन् । मंगलबार उनले छाङलिमिथाङ स्टेडियममा आयोजित कार्यक्रममा सहभागी भएर भुटानका चौथो ‘द्रुक ग्याल्पो’ जिग्मे सिंगे वाङ्चुकको ७०औं जन्मजयन्तीमा सम्बोधन गरेका थिए ।

‘भारत र भुटानबीच शताब्दीयौंदेखि गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्ध रहिआएको छ,’ उनले भने, ‘यस महत्त्वपूर्ण अवसरमा सहभागी हुनु मेरो लागि गर्वको विषय हो ।’