
एजेन्सी । भेनेजुएलाले क्यारिबियाली सागरमा अमेरिकी युद्धपोत र सैनिकहरूको बढ्दो उपस्थितिको प्रतिक्रियास्वरूप विशाल सैन्य परिचालन सुरु गर्ने घोषणा गरेको छ ।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजका अनुसार, स्थल, हवाई, जलसैनिक र रिजर्भ फौजले बुधबारसम्म सैन्य अभ्यास सञ्चालन गर्नेछन् । उनले यसलाई अमेरिकाको साम्राज्यवादी जोखिमको जवाफका रूपमा वर्णन गरेका छन् ।
साधारण सैन्य इकाइहरूसँगै यस अभ्यासमा बोलिभारियन मिलिशिया पनि सहभागी हुनेछ । यो पूर्वराष्ट्रपति ह्युगो चाभेजले स्थापना गरेको नागरिक रिजर्भ फौज हो । दक्षिण अमेरिकी स्वतन्त्रता सेनानी सिमोन बोलिभारको नाममा यसको नाम राखिएको हो ।
यो आदेश भेनेजुएलाका राष्ट्रपति निकोला मादुरोबाट प्रत्यक्ष रूपमा आएको पाद्रिनो लोपेजले बताए । कमाण्ड, नियन्त्रण र सञ्चार प्रणालीलाई सुदृढ बनाउने तथा देशको रक्षा सुनिश्चित गर्ने अभ्यासको उद्देश्य रहेको उनले बताएका छन् ।
अमेरिका र भेनेजुएलाबीचको तनाव बढिरहेको बेला यो कदम चालिएको हो । मंगलबार अमेरिकी जलसेनाले आफ्नो सबैभन्दा ठूलो युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड दक्षिणी कमान्ड क्षेत्रमा पुगेको घोषणा गरेको थियो । त्यस कमान्ड अन्तर्गत दक्षिण अमेरिकाको अधिकांश हिस्सा पर्दछ ।
अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले गत महिनाको अन्त्यतिर यो विमानवाहक युद्धपोतलाई युरोपबाट क्यारिबियाली सागर पठाउन आदेश दिएका थिए ।
यस युद्धसमूहमा नौवटा हवाई स्क्वाड्रन, दुईवटा आर्ले बुर्के श्रेणीका क्षेप्यास्त्र विनाशक युद्धपोत, एक क्षेप्यास्त्र रक्षा कमान्ड जहाज र करिब ४ हजारभन्दा बढी अमेरिकी जलसैनिक छन् ।
अमेरिकाले आफ्नो यो सैन्य उपस्थिति लागूपदार्थ तस्करी नियन्त्रणको उद्देश्यका रूपमा प्रस्तुत गरेको छ । पछिल्ला केही साताहरूमा अमेरिकी सेनाले क्यारिबियाली क्षेत्रमा धेरैजसो लागूऔषध तस्करी गर्ने भनिएका डुंगामाथि हवाई प्रहारहरू गरेको छ ।
तर, काराकस (भेनेजुएलाको राजधानी) ले यसलाई सत्तापरिवर्तन गर्ने अमेरिकी प्रयासको रूपमा लिएको छ । ट्रम्प प्रशासनका केही अधिकारीहरूले पनि गोप्य रूपमा मदुरो हटाउने रणनीति नै मुख्य उद्देश्य रहेको स्वीकार गरेका थिए ।
गत महिना अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा सीआईए परिचालन गर्न अनुमति दिएको बताएका थिए । उनले पहिले नै देशभित्र सैन्य कारबाहीको सम्भावनाबारे संकेत दिएका थिए । तर, पछि प्रशासनका अधिकारीहरूले तत्काल कुनै यस्तो योजना नभएको स्पष्ट पारे ।
मंगलबारको वक्तव्यमा पाद्रिनो लोपेजले यस सैन्य परिचालनलाई मदुरोको स्वतन्त्रता योजना २०० को हिस्सा भएको बताएका छन् । यो नागरिक र सैन्य फौजलाई मिलाएर देशको रक्षा गर्ने रणनीति हो ।
भेनेजुएलाको बोलिभारियन नेशनल आर्म्ड फोर्सेसमा करिब १ लाख २३ हजार नियमित सैनिक छन् । मदुरोले भने आफ्नो स्वैच्छिक मिलिशियामा अहिले ८० लाखभन्दा बढी रिजर्भ सदस्य रहेको दाबी गरेका छन् । तर, विज्ञहरूले त्यो संख्या र तिनीहरूले पाएको तालिमको गुणस्तरबारे शंका व्यक्त गरेका छन् ।
यूएसएस फोर्ड समूहको आगमनसँगै करिब १५ हजार अमेरिकी सैनिक अहिले उक्त क्षेत्रमा उपस्थित रहेको अनुमान गरिएको छ ।
फोर्ड आउनुअघि नै इवो जिमा एम्फिबियस रेडी ग्रुप र २२औं मरिन एक्सपिडिशनरी युनिट समेत करिब ४५ सय अमेरिकी मरीन र सेलरसहित तीन मिसाइल विनाशक, एक आक्रमण पनडुब्बी, विशेष अपरेशन युद्धपोत, एक मिसाइल क्रुजर, र ए–८ पोसाइडन गुप्तचर विमानसहित त्यहाँ तैनाथ थिए ।
त्यस्तै, अमेरिकाले हालै १० वटा एफ–३५ लडाकु विमान र कम्तीमा तीन एमक्यू–रीपर ड्रोन पनि प्योर्तो रिकोमा तैनाथ गरेको छ । त्यहाँ करिब ५ हजार अमेरिकी सैनिक पनि रहेका छन् ।
अक्टोबरको अन्त्यतिर अमेरिकी बमवर्षक विमानहरूले भेनेजुएलाको तटनजिक आक्रमण प्रदर्शन सहितका प्रशिक्षण मिशनहरू सञ्चालन गरेका थिए ।








प्रतिक्रिया