
काठमाडौं । केही समयअघि नै निर्वाचन आयोगमा दल दर्ताका लागि पेस भएको ‘उज्यालो नेपाल पार्टी’ को अध्यावधिक विवरण निर्वाचन आयोगमा बुझाइएको छ ।
यसअघि ज्ञानबहादुर तामाङ अध्यक्ष प्रस्ताव गरिएको उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो । जसमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ । सुरुमा कुलमान घिसिङ अध्यक्ष बन्ने तयारी भएको भए पनि उनले उपाध्यायलाई अघि सारेका हुन् ।
यसअघि साउन २७ मा दल दर्ताका लागि आयोगमा निवेदन दिइएको भए पनि आवश्यक कागजात नपुग्दा दर्ता हुन सकेको थिएन । निर्वाचन आयोगका अनुसार, अनुसूची ३ लगायतका विवरण पेश नगरेको कारणले दल दर्ता रोकिएको थियो । संशोधित निवेदनमा प्रस्तावित केन्द्रीय समितिको बैठकले उपाध्यायलाई अध्यक्ष बनाउने निर्णय गरिएको उल्लेख छ।
पहिलेको निवेदनमा दलको निर्वाचन चिन्ह ‘बलेको चिम’ माग गरिएको थियो। मंगलबार अद्यावधिक विवरण पेश गर्दा केन्द्रीय समितिमा तामाङसहित ५१ सदस्यीय समिति प्रस्ताव गरिएको छ ।
कुलमान भने चुनावताका मात्रै दलमा सक्रिय हुने स्रोतको भनाइ छ ।
डडेलधुराको प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित सांसद डा तारा जोशी, प्राध्यापक डाक्टर महेन्द्र लावती, कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मालगायतको नाम आयोगमा अध्यावधिक गरिएको हो ।
अध्यावधिक सूचीमा जेनजीका प्रतिनिधिहरू समावेश छैनन् भने यसअघि चर्चामा रहेकी सुमना श्रेष्ठ, सुधन गुरुङ लगायतको नाम पनि नरहेको स्रोतको भनाइ छ ।










प्रतिक्रिया