तल्लो हेवा खोला जलविद्युत आयोजनाको लागि ९८ करोडको ऋण सम्झौता

112
Shares

काठमाडौं । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ ।

पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् ।

सो आयोजानमा सिद्धार्थ बैंकले ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । आयोजनाको कूल लागत एक अर्ब ४० करोड २५ लाख बराबर रहेको छ ।

कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४० दशमलव ८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ ।

आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको तीन दशमलव आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ ।

पाँचथर जिल्लामा आयोजना स्थल रहेको परियोजनाको हाल निर्माण सुरु भइसकेको र निर्धारित समयमा पूरा हुने प्रवर्द्धक कम्पनीले जनाएको छ ।