
एजेन्सी । शनिबार अमेरिकामा आन्तरिक र वाह्य १ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन् । यो हप्ताको सुरुमा संघीय सरकार बन्द भएपछि विमान कम्पनीहरूलाई उडान घटाउन भनिएको थियो ।
उडान ट्रयाकर ‘फ्लाइटअवेयर’का अनुसार शनिबार करिब ६ हजार उडान ढिला भए, जुन शुक्रबारका ७ हजार ढिलाइभन्दा केही कम हो ।
संघीय उड्डयन प्रशासन (एफएए) ले यसअघि उनीहरूले देशका ४० व्यस्त विमानस्थलमा उडान क्षमतामा १० प्रतिशतसम्म कटौती गर्ने घोषणा गरेका थिए । सरकार बन्दका कारण बिना तलब काम गरिरहेका एयर ट्राफिक कन्ट्रोलरहरू (उडान नियन्त्रक) थकाइ महसुस गरिरहेका छन् ।
अक्टोबर १ देखि सुरु भएको संघीय सरकार बन्द (शटडाउन) अझै अन्त्य भएको छैन । रिपब्लिकन र डेमोक्र्याट नेताहरूले समाधानमा सहमति जुटाउन सकेका छैनन् । शनिबार यो बन्दको ३९औँ दिन भयो, जसले अमेरिकी इतिहासमै सबैभन्दा लामो शटडाउनको रेकर्ड बनाएको छ ।
सांसदहरू शनिबार पनि वासिङ्टन डीसीमा छन् । उनीहरूले द्विदलीय वार्ता गरेर बन्द अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यसबीच धेरै अमेरिकनहरू खाना सहायता भुक्तानी कटौती र उडान अवरोधका कारण प्रभावित हुन थालेका छन् ।
अमेरिकन एयरलाइन्सले शनिबार विज्ञप्ति जारी गर्दै वासिङ्टन डीसीका नेताहरूसँग तुरुन्तै समाधान खोजी गरेर सरकार पुनः सञ्चालन गर्न आग्रह गरेको छ।
न्यूजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा लामो प्रतीक्षा देखिएको छ । शनिबार दिउँसोसम्म त्यहाँ आउने विमान औसत चार घण्टा ढिला हुँदै थिए, र उड्ने विमान पनि करिब डेढ घण्टा ढिला भइरहेका थिए ।
शनिबार सबैभन्दा बढी रद्द भएका उडान चार्लोट/डगलस इन्टरनेशनल, नेवार्क लिबर्टी इन्टरनेशनल र सिकागो ओ’हेर इन्टरनेशनल विमानस्थलका थिए ।
एफएएका अनुसार जेएफके, एटलान्टा र लागार्डिया विमानस्थलबाट उडान पनि क्रमशः करिब ३ घण्टा, २.५ घण्टा र १ घण्टा ढिला भएका थिए ।
नोभेम्बर २७ मा पर्ने थ्याङ्क्सगिभिङ छुट्टी नजिकिँदै गर्दा यो अमेरिका भरको सबैभन्दा व्यस्त यात्रा सिजन हो ।
केवल वाणिज्यिक (कम्पनीका) विमान मात्रै होइन, निजी जेटहरू पनि यसको प्रभावमा परेका छन् ।
शनिबार मन्त्री डफीले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखे, ‘हामीले व्यस्त विमानस्थलहरूमा निजी विमानको उडान घटाएका छौं, र तिनीहरूलाई साना विमानस्थल प्रयोग गर्न भनेका छौं ताकि कन्ट्रोलरहरूले व्यावसायिक विमानमा ध्यान दिन सकून् । यो नै न्यायसंगत हो ।’
आगामी दिनहरूमा स्थिति अझै बिग्रने देखिएको छ । एफएएले क्रमिक रूपमा उडान कटौती गर्ने बताएको छ । शुक्रबार ४ प्रतिशत, नोभेम्बर ११ सम्म ६ प्रतिशत, नोभेम्बर १३ सम्म ८ प्रतिशत, र नोभेम्बर १४ सम्म पुग्दा १० प्रतिशतसम्म उडान घटाइनेछ।
‘यो कदम सुरक्षा कायम राख्न जरुरी छ किनभने उडान नियन्त्रकहरू लामो समयदेखि थकित अवस्थामा बिना तलब काम गरिरहेका छन्,’ एफएएले भनेको छ ।
यी नियन्त्रकहरू “आवश्यक कर्मचारी” भएकाले तलब नपाए पनि काम गर्न बाध्य छन् । संघहरूको भनाइअनुसार धेरै जनाले बिरामी भएको नाटक गरेर वा दोस्रो काम गरेर आफ्नो खर्च चलाइरहेका छन् ।
उनीहरू ती १४ लाख संघीय कर्मचारीमध्येका हुन्, जो सरकारले बन्द गरेपछि बिना तलब काम गरिरहेका वा जबर्जस्ती बिदामा बस्न बाध्य भएका छन् ।
यसबाहेक यातायात सुरक्षा एजेन्सी (टीएसए) का ६४ हजारमध्ये अधिकांश कर्मचारी पनि अहिले तलबविहीन छन् ।
अघिल्लो सरकार बन्द (सन् २०१८ मा डोनाल्ड ट्रम्पको पालामा) हुँदा करिब १० प्रतिशत टीएसए कर्मचारीहरूले “तलब नपाएसम्म काम नगर्ने” निर्णय गरेका थिए ।








प्रतिक्रिया