वैकल्पिक शक्तिहरू स्वार्थ त्यागेर एक स्थानमा आउन जेनजी अभियन्ताको आह्वान

133
Shares

काठमाडौं । जेनजी युवा अभियन्ताहरुले गत् भदौ २३ गतेदेखि सुरू भएको ‘जेनजी जनआन्दोलन’ अब केवल सडक प्रदर्शनमा सीमित रहनुको साटो नयाँ राजनीतिक संरचना निर्माणको दिशामा अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।

जेनजी युवा अभियन्ताहरुले शुक्रबार बिज्ञप्ती जारी गर्दै वैकल्पिक शक्तिहरु आफ्नो स्वार्थ त्यागेर एक स्थानमा आउन आग्रह गरेका छन् ।

अभियानको प्रारम्भिक नेतृत्वमा रहेका पुरुषोत्तम यादव, प्रवेश दाहाल, सुप्रिया शाही ठकुरी, सुजता जिसी, महेश जैसी, निरुता पौडेल, अबिन लिम्बू, टिकाराम लिम्बू, किरण लिम्बू, प्रकाश धामी र सुप्रसिद्ध सुबेदीलगायतका जेनजीहरूले शुक्रवार संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ राजनीतिक शक्ति निर्माणका लागि बृहत् राष्ट्रिय एकता अभियान सुरु गरिएको घोषणा गरेका छन्।

युवा अभियन्ता सागर ढकाल, सोम शर्मा, अजय श्रेष्ठ, हेमराज थापा, विजय कँडेल, सुशान्त वैदिक, प्रज्वल पौडेल, निकुञ्ज भण्डारी, डम्बर साहु, अतीत बाबु रिजाल र रिवाज शर्मा आचार्यलगायतले पनि उक्त विज्ञप्तिमा हस्ताक्षर गरी अभियानप्रति ऐक्यबद्धता जनाएका छन्।

उनीहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘जनआन्दोलन केवल राजनीतिक तरङ्ग होइन, यो हाम्रो देशको अन्तर्मनको प्रबल धड्कन हो। अन्याय, कुशासन र भ्रष्टाचारले थिचेको आत्माले फेरि एकपटक आफ्नो अस्तित्व सम्झाउँदै उभिएको क्षण यही हो।’

जनआन्दोलनको आत्मा शहीदहरूको बलिदान र नागरिक चेतनाको एकता हो, जसले नेपालको भविष्यलाई पुनः दिशानिर्देश गर्ने क्षण ल्याएको बताउँदै उनीहरूले लेखेका छन्,‘सहादत प्राप्त वीरहरूको सपना र सङ्घर्षलाई आत्मसात् गर्दै देशमा न्याय, स्वतन्त्रता, स्थायित्व र संवैधानिक मूल्यहरूको पुनः स्थापनाका लागि अबको आन्दोलनलाई ‘नयाँ राजनीतिक यात्राको सुरुवात’का रूपमा चित्रण गर्नुपरेको छ । ’

यस्तो छ बिज्ञप्ति
१. राष्ट्रपतिसँग तत्काल लिखित सम्झौता
जेनजी जनआन्दोलनमार्फत प्रकट जनआकाङ्क्षालाई सम्बोधन नगर्दा आन्दोलनका उपलब्धिहरू गुम्न सक्ने अवस्था रहेको भन्दै उनीहरूले राष्ट्रपतिबिच आन्दोलनरत पक्षसँग लिखित सम्झौता गर्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यो जनआन्दोलनले व्यक्त गरेका माग केवल सडकको आवाज होइन, यो जनताको साझा आकाङ्क्षा हो। त्यसैले अब संवैधानिक तहमा यसको औपचारिक प्रत्युत्तर आवश्यक छ।’

२. आन्दोलनकारीको सुरक्षा र दोषीमाथि कारबाही
आन्दोलनमा सहभागी भएकाहरूलाई फौजदारी कानुनको साँघुरो व्याख्या अन्तर्गत दमन गर्न नहुने भन्दै, उनीहरूले सरकारले आन्दोलनकारीमाथिको कारबाही, गिरफ्तारी र त्रासपूर्ण कार्य रोक्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘जनआन्दोलनको मर्म बुझी, आन्दोलनकारीलाई न्यायिक प्रक्रियामार्फत सम्मान दिलाउनुपर्छ।’

३. नयाँ राजनीतिक सक्तीहरूबिच एकता
विज्ञप्तिमा वैकल्पिक शक्ति र नयाँ पुस्ताका दलहरूबीच आपसी हठ, अविश्वास र स्वार्थका कारण जनता पुनः पुरानै दलहरूको जालोमा अड्किएको उल्लेख गर्दै, अब सबै नयाँ सोच र नेतृत्व एउटै साझा मोर्चामा आउनुपर्ने भनिएको छ। ‘हामीलाई पुराना दलहरूको कुसंस्कारले शासन गर्ने अनुमति दिनु छैन।

अब एउटै सशक्त, स्वच्छ र वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने बेला आएको छ’ विज्ञप्तिमा भनिएको छ।

४. विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार, बेजिल्ला मतदान र ‘नो भोट’ विकल्प
विदेशमा रहेका नेपाली नागरिकलाई प्रत्यक्ष मतदान अधिकार दिन, प्रविधि–मैत्री बेजिल्ला मतदान प्रणाली लागू गर्न र ‘नो भोट’ अधिकार सुनिश्चित गर्न उनीहरूले सरकारसँग माग गरेका छन्।

‘प्रविधिको युगमा नागरिकलाई मताधिकारबाट वञ्चित राख्नु अस्वीकार्य छ। अब प्रविधिमैत्री निर्वाचन प्रणाली आवश्यक छ’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,’पुराना राजनीतिक दलहरूले निम्त्याएको अस्थिरता, भ्रष्टाचार र अन्यायको चक्र तोड्न अब युवा पुस्ता नेतृत्वमा आउनुपर्ने अपरिहार्यता देखिएको छ र यो समय नेपालको राजनीतिक कुसंस्कारलाई जरैदेखि उखेलेर सभ्य राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर हो ।’

अभियन्ताहरूले भनेका छन्, ‘अबको आन्दोलन केवल असन्तोष होइन, ‘देशको आत्मालाई पुनः प्रज्वलित गर्ने चेतनात्मक यात्रा’ हो। उनीहरूले सुशासन, सेवाभाव, योग्यतातन्त्र र समावेशी लोकतन्त्रमा आधारित नयाँ राज्यव्यवस्था निर्माण गर्न प्रतिबद्धता जनाएका छन्।’

‘अब हामी सशक्त, पारदर्शी र उत्तरदायी नयाँ राजनीतिक शक्ति निर्माणको दिशामा एकीकृत यात्रामा निस्केका छौँ। सुशासनको बाटोमा अगाडि बढ्न चाहने प्रत्येक देशभक्त नागरिकलाई यस अभियानमा सामेल हुन हामी आह्वान गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा यस अभियानलाई संस्थागत स्वरूप दिन, देशभर बृहत् हस्ताक्षर अभियान सञ्चालन गरिने र नागरिक समर्थन जुटाउँदै राष्ट्रिय स्तरको साझा घोषणापत्र सार्वजनिक गरिने तयारी पनि गरिएको छ।

Skip This