व्यवसाय निरन्तर घटेको एनआईसी एशियाको सञ्चित नोक्सानी ६ अर्ब माथि, ३ महिनामा १२ करोडमात्र नाफा

532
Shares


काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चित नोक्सानी ६ अर्ब २४ करोड ८२ लाख रुपैयाँ पुगेको छ । १४ अर्ब ९१ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित नोक्सानी गत असार मसान्तमा ५ अर्ब २१ करोड १८ लाख २२ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नै बैंकको सञ्चित नोक्सानी १ अर्ब रुपैयाँ भन्दा धेरैले बढेको छ ।

बैंकले गत आर्थिक वर्षदेखि नै कर्जा लगातार घटाउँदै गएपनि निष्क्रिय कर्जा भने बढिरहेको छ । गत असार मसान्तमा ग्राहकको कर्जा २ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ रहेकामा असोज मसान्तमा आउँदा २ खर्ब १२ अर्ब २२ करोड रुपैयाँमा झरेको छ । जसले गर्दा बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) ३.९९ प्रतिशत कायम राख्न सकेपनि खुद ब्याज आम्दानी भने प्रथम त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत आवको प्रथम त्रैमासमा बैंकले २ अर्ब ५५ कराेड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब २८ करोड ६० लाखमा घटेको छ । यस्तै कर्जा नोक्सानी व्यवस्था १ अर्ब १६ करोड ४३ लाख रुपैयाँबाट १ अर्ब १८ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

आम्दानीमा कमी र प्रोभिजन सामान्य बढेपनि बैंकले सञ्चालन खर्च उल्लेख्य रुपमा घटाएको छ । जसले बैंकको नाफा भने गत आर्थिक वर्षको प्रथम त्रैमासमा ११ करोड ५ लाख रुपैयाँ मात्रै रहेकोमा केही बढेर १२ करोड २२ लाख पुगेको छ ।

असोज मसान्तमा बैंकको निष्क्रिय कर्जा बढेर ६.९९ प्रतिशत पुगेको छ । त्यस्तै पुँजीकोष अनुपात १४.०३ प्रतिशत र प्राथमिक पुँजीकोष ९.०३ प्रतिशत छ । बैंकको आधार दर ६.६० प्रतिशत र खुद निष्क्रिय कर्जा १.७४ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २१ पैसा, प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात ९७.७३ गुणा छ ।