बिहार विधानसभा निर्वाचन : भैंसी चढेर मतदान गर्न पुगे यी व्यक्ति

203
Shares

एजेन्सी । भारतको बिहार राज्यमा विधानसभा निर्वाचनको पहिलो चरणको मतदान बिहीबार भइरहेको छ ।

त्यहाँको वैशाली जिल्लामा रहेको लालगञ्ज क्षेत्रमा केदार प्रसाद नामक ४४ वर्षीय व्यक्ति भैंसी चढेर मतदान गर्न गएका छन् ।
उनले रतनपुरा पञ्चायतमा रहेको ३२३ नम्बरको मतदान केन्द्रमा भोट हालेका थिए । उन मत दिन जाँदा ६ जना महिला पनि सँगै थिए ।

ती महिलाहरूले त्यसक्रममा ‘चल भोट गिरावे भइया’ भन्दै गीत पनि गाएका थिए ।

भैंसीमा चढेर केदारले एक हातमा लट्ठी र अर्को हातमा मतदाता परिचयपत्र बोकेका थिए ।

उनले मानिसहरूलाई मतदान गर्न आह्वान पनि गरेका थिए । मतदानको अधिकारलाई खेर नफाल्न उनले आग्रह गरेका थिए ।

मतदान गर्न जाँदा किन भैंसी चढेको भनी पत्रकारले प्रश्न सोध्दा केदारले यो सबभन्दा सहज सवारीसाधन भएको बताए ।

आफूलाई भैंसीमा सवार भएको देख्दा मानिसहरू जिज्ञासु भएर हेर्न आउने अनि उनीहरूलाई मतदानका लागि फकाउने केदार बताउँछन् । आफूसँग हिँडिरहेका महिला पनि सबै काम छोडेर मतदान गर्न हिँडेको उनले जानकारी दिए ।

बिहारमा अपराह्न १ बजेसम्म ४२.३ प्रतिशत मतदान भएको चुनाव आयोगले जनाएको छ ।