थाइल्यान्डका अधिकारीले गरे मिस मेक्सिकोको अपमान, अन्य प्रतियोगीले गरे कार्यक्रम बहिष्कार

196
Shares

एजेन्सी । थाइल्यान्डका एक अधिकारीले मिस मेक्सिकोलाई सार्वजनिक रूपमा अपमान गरेपछि मिस युनिभर्स प्रतियोगिताका कतिपय प्रतिस्पर्धीहरू कार्यक्रम छोडेर हिँडेका छन् ।

प्रतियोगिताअघिको एक समारोहमा मिस युनिभर्स थाइल्यान्डका निर्देशक नवात इट्साराग्रिसिलले फातिमा बोस्चलाई विज्ञापन सामग्री पोस्ट नगरेको भन्दै दर्जनौं प्रतिस्पर्धीहरूको उपस्थितिमा कठोर गाली गरे ।

मिस मेक्सिकोले यसमा आपत्ति जनाएपछि नवातले सुरक्षाकर्मीहरूलाई बोलाएर उनी र उनलाई समर्थन गर्नेहरूलाई प्रतियोगिताबाट निकाल्ने धम्की दिए । त्यसपछि बोस्च कोठाबाट निस्किइन् र अन्य प्रतिस्पर्धीहरू पनि एक्यबद्धता जनाउँदै बाहिरिए ।

घटनाको प्रत्यक्ष प्रसारण गरिएको थियो र त्यसको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ । मिस युनिभर्स संगठनले नवातको खराब व्यवहारको निन्दा गरेको छ । उनले पछि माफी पनि मागेका छन् ।

मंगलबारको कार्यक्रममा आआफ्ना देशका राष्ट्रिय प्रतियोगितामा जितेका सुन्दरीहरूले आफ्नो वस्त्र लगाएर सहभागिता जनाएका थिए ।

नवातले चर्को स्वरमा बोस्चलाई गाली गर्दै पटकपटक चेतावनी दिएका थिए ।

त्यसपछि उनले प्रतियोगिता जारी राख्न चाहने जति बस भने । कोही बाहिर गएमा अन्य युवतीहरूले प्रतियोगितालाई निरन्तरता दिने उनको भनाइ थियो ।

अधिकांश प्रतिस्पर्धीहरू उभिइरहे र अन्य चाहिँ ढोकातर्फ गए ।

कार्यक्रम छोडेपछि मिस बोस्चले पत्रकारहरूलाई ६० वर्षीय थाई अधिकारीले अशिष्ट व्यवहार देखाएको आफूलाई ‘बेवकूफ’ भनेको बताइन् ।

आफ्ना शब्दहरूलाई गलत बुझिएको दाबी गर्दै नवातले आरोप अस्वीकार गरे ।

उनले ड्यामेज अर्थात् क्षति भनेको, डमहेड अर्थात् बेवकूफ नभनेको दाबी गरे ।

उनको व्यवहारपछि मिस युनिभर्स संगठनले कडा प्रतिक्रिया जनायो र अन्तर्राष्ट्रिय कार्यकारी टोली थाइल्यान्ड पठाएर प्रतियोगिताको व्यवस्थापन आफ्नो नियन्त्रणमा लियो ।

संगठनका अध्यक्ष राउल रोचाले भिडियो वक्तव्य जारी गर्दै नवातले ‘साँचो आतिथ्य’ को अर्थ बिर्सिएको बताए । उनले मिस बोस्चलाई अपमान र बेइज्जती गरेको अनि सुरक्षाकर्मी बोलाएर एक असहाय महिलालाई डराउने गम्भीर गल्ती गरेको पनि रोचाको भनाइ छ ।

नवातको सहभागितालाई जतिसक्दो कम वा पूर्णरूपमा हटाइन र संगठनले उनीविरुद्ध कानूनी कारबाही अघि बढाउने उनले बताए ।

‘मिस युनिभर्स महिलाहरूको सशक्तीकरणको मञ्च हो र यसमार्फत उनीहरूले विश्वमा आफ्नो आवाज बुलन्द गर्न पाउँछन्,’ रोचाले भने ।

मंगलबार कार्यक्रम छोड्नेमध्ये एक बहालवाला मिस युनिभर्स भिक्टोरिया क्जाएर थेलभिग थिइन् ।

‘यो महिलाको अधिकारको कुरा हो । यस्तो व्यवहार अस्वीकार्य छ । महिलालाई यसरी गाली गर्नु चरम अपमान हो । त्यसैले म मेरो कोट लिएर यहाँबाट हिँड्दैछु,’ उनले बताइन् ।

मिस बोस्चले पछि एक अन्तर्वार्तामा आवाज बुलन्द गर्न नडराउने बताइन् ।

‘मेरो आवाज अझै पनि बलियो छ । मेरो एक निश्चित उद्देश्य छ, भन्नुपर्ने कुरा छ,’ उनले थपिन्, ‘हामी २१औं शताब्दीमा छौं । म कुनै गुडिया होइन जसलाई सजाएर, मेकअप गरेर, लुगा फेरेर राख्ने काममा सीमित गरियोस् । म यहाँ ती सबै महिलाहरू र केटीहरूको आवाज बन्न आएकी हुँ जो आफ्ना उद्देश्यका लागि लड्छन् । म त्यसका लागि पूर्ण रूपमा समर्पित रहेको आफ्नो देशलाई भन्न चाहन्छु ।’

घटनाको भिडियोले सौन्दर्य प्रतियोगिता प्रेमीहरूलाई क्रोधित बनाएको छ । धेरैले नवातको व्यवहारको कडा आलोचना गरेका छन् र मिस बोस्चको साहसको प्रशंसा गरेका छन् ।

त्यसपछि नवातले माफी मागेका छन् । सामाजिक सञ्जालमा जारी भिडियो वक्तव्यमा नवातले कसैलाई दुःख, असजिलो वा नकारात्मक असर परेको छ भने म सबैसँग माफी माग्छु भने । विशेषगरी त्यहाँ उपस्थित करिब ७५ युवतीसँग उनले माफी मागे ।

विवादका बाबजुद मिस युनिभर्स प्रतियोगिता अगाडि बढेको छ । बुधबार बैंककमा प्रतिस्पर्धीहरूले वेलकम इभेन्टमा सहभागिता जनाए ।

नयाँ मिस युनिभर्स नोभेम्बर २१ मा घोषणा गरिनेछ ।