
काठमाडौं । २०२५ को इन्डियन प्रमियर लिग (आईपीएल) जितेको क्रिकेट टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) बिक्रीको तयारीमा रहेको समाचारहरू सार्वजनिक भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लूमबर्ग न्युजलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले २ अर्ब डलर अर्थात करिब ३ खर्ब रुपैयाँ (२ खर्ब ८३ अर्ब ९० करोड नेपाली रुपैयाँ) मा क्लब बिक्रीको तयारी भइरहेको र त्यसमा ६ लगानीकर्ताले चसो देखाएको उल्लेख गरेको छ ।
यूनाइटेड स्पिरिट्स लिमिटेड, ब्रिटिस बहुराष्ट्रिय कम्पनी डियाजियोको भारतीय इकाइले आफ्नो खेल व्यवस्थापन कम्पनी रोयल च्यालेन्जर्स स्पोर्ट्स प्रालिमा लगानी पुनरावलोकन प्रक्रिया सुरु गरेको समाचारमा उल्लेख गरिएको छ ।
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले यस वर्ष पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको हो ।
कम्पनीले नोभेम्बर ५, २०२५ मा सेयर बजारमा बुझाएको विवरणअनुसार उक्त पुनरावलोकन प्रक्रिया आगामी मार्च ३१ भित्र सकिनेछ । यूनाइटेड स्पिरिट्सले अहिले नै आरसीबीको सेयर बिक्रीबारे स्पष्ट खुलासा भने गरेको छैन।
तर, ब्लूमबर्ग न्युजका अनुसार डियाजियोले यसअघि सम्भावित सल्लाहकारहरूसँग छलफल गरी आरसीबीको मूल्यांकन करिब २ अर्ब अमेरिकी डलरसम्म गर्न सकिने अनुमान गरेको थियो । यही मूल्यांकनका आधारमा सम्भावित सेयर बिक्रीले आगामी दिनमा आईपीएल फ्रेन्चाइजहरूको मूल्य निर्धारणमा नयाँ मापदण्ड तय गर्न सक्छ भन्ने विश्लेषण गरिएको छ ।
यूनाइटेड स्पिरिट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण सोमेश्वरका अनुसार, आरसीबी कम्पनीका लागि ‘महत्वपूर्ण र रणनीतिक सम्पत्ति’हो तर यो डियाजियोको मुख्य कारोबार (मदिरा व्यवसाय) सँग प्रत्यक्ष सम्बन्धित छैन । उनका अनुसार कम्पनीले आफ्नो भारतस्थित पोर्टफोलियो सन्तुलित बनाउन र दीर्घकालीन मूल्य सिर्जनामा केन्द्रित हुने रणनीति लिएको छ ।
आरसीबी मात्र होइन, अर्को एउटा आईपीएल फ्रेन्चाइज पनि लगानीकर्ता खोज्दैछ भन्ने जानकारी सार्वजनिक भएको छ। लगातार बढ्दो सञ्चालन लागतका कारण दुवै टोली नयाँ लगानीकर्ताको खोजीमा रहेको बताइन्छ।

आरसीबीमा ६ सम्भावित लगानीकर्ता
आरसीबी बिक्रीबारे खबर सार्वजनिक भएलगत्तै करिब छ वटा पक्षले टोलीमा लगानी गर्ने चासो देखाएको जनाइएको छ। तीमध्ये भारतीय तथा अमेरिकी कम्पनीहरू छन् ।
भारतीय उद्योगपति आदर पुनावाला (सिरम इन्स्टिच्युड अफ इन्डिया), पार्थ जिन्दल ( जेएसडब्ल्यू ग्रुप), अडानी समूह, साथै एक दिल्लीका बहुक्षेत्रीय व्यवसायी लगायतले चासो देखाएका क्रिकबजले जनाएको छ । यिनका अतिरिक्त, दुई अमेरिकी निजी इक्विटी कम्पनीहरूले पनि सम्भावना अध्ययन गरिरहेका छन् ।
आदर पुनावालाले हालै सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका थिए, ‘सही मूल्याङ्कनमा @RCBTweets एक उत्कृष्ट टोली हो।’ उनको परिवारले २०१० मा आईपीएलको विस्तारताका टोली खरिद गर्न प्रयास गरेको थियो।
डियाजियोले आरसीबीको मूल्य करिब २ अर्ब डलर तोकेको बताइन्छ । तर कतिपय विज्ञहरूका अनुसार यो मूल्य धेरै उच्च हुन सक्छ र अन्ततः बिक्री मूल्य मिडिया अधिकारका आगामी चक्रका मूल्याङ्कनमा निर्भर हुनेछ ।
हालै ‘जियोस्टार’ले आफ्नो ग्राहक संख्या ५० करोड नाघेको घोषणा गरेको छ । यदि उनीहरूले प्रतिमहिना १०० रुपैयाँ शुल्क लिने हो भने, आईपीएल सिजनमा मात्र २० हजार करोड रुपैयाँ (करिब २.३ अर्ब अमेरिकी डलर) बराबरको आम्दानी हुनसक्ने अनुमान छ । पाँच वर्षमा यो रकम १० अर्ब अमेरिकी डलरसम्म पुग्ने सम्भावना छ ।
यसले आईपीएल मिडिया अधिकारको मूल्यलाई अझ बढाउन सक्छ । पछिल्लो चक्रमा यसको मूल्य करिब ६.३ अर्ब अमेरिकी डलर थियो, जुन २०२७ मा अझ वृद्धि हुने अपेक्षा गरिएको छ ।
डियाजियोले बिक्री प्रक्रिया सल्लाहका लागि दुई निजी बैंक नियुक्त गरेको छ, जसमा सिटी बैंक पनि समावेश रहेको बताइएको छ । तर, कम्पनीको भारतीय शाखा (युनाइटेड स्पिरिट इन्डिया) ले बिक्रीमा उत्साह नदेखाएको र केही उच्च अधिकारी हालै यूकेमा छलफलका लागि गएको रिपोर्ट छ ।
आरसीबीसँग सम्बन्धित एक कानुनी मुद्दा ‘जुन ४ त्रासदी’ का नामले चिनिन्छ जुन अझै समाधान नभएकाले नयाँ लगानीकर्तालाई सो मुद्दाको जोखिमसमेत व्यहोर्नु पर्नेछ । आरसीबीले आईपीएल जितेपछिको उल्लासपूर्ण उत्सव बेङ्गलुरुमा दुःखद त्रासदीमा परिणत भएको थियो । एम. चिन्नास्वामी रंगशालामा प्रशंसकहरूको भीड बढ्दा उत्पन्न अराजकता र भगदौडका कारण ४० वर्षभन्दा कम उमेरका ११ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।
साथै, बेङ्गलुरुको एम. चिन्नास्वामी क्रिकेट मैदानमा पनि व्यवस्थापकीय समस्या देखिएका कारण टोलीको दीर्घकालीन घरेलु मैदानबारे अनिश्चितता रहेको छ।
आरसीबी आईपीएलको संस्थापक टोलीहरूमध्ये एक हो । यसलाई सुरुवाती चरणमा व्यवसायी विजय माल्याले स्वामित्वमा राखेका थिए । तर, उनको किङफिसर एयरलाइन्स २०१२ मा पतन भएपछि डियाजियोले यूनाइटेड स्पिरिट्ससहित आरसीबी पनि नियन्त्रणमा लिएको हो ।
भारतमा स्वास्थ्य मन्त्रालयले हालै खेलकुदमा मदिरा र तमाखु ब्रान्डको प्रचार–प्रसार रोक्ने प्रयासलाई तीव्र बनाएको छ, जसले पनि डियाजियोलाई आफ्ना गैरमुख्य सम्पत्तिहरू पुनःसमीक्षा गर्न प्रेरित गरेको बताइन्छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार डियाजियोको स्वामित्वमा रहेको आरसीबी टोली अहिले आर्थिक मूल्याङ्कन र सम्भावित बिक्रीको मोडमा पुगेको छ । २ अर्ब डलरको मूल्य, छवटा सम्भावित लगानीकर्ता, मिडिया अधिकारको बढ्दो सम्भावना र कानुनी–प्रशासनिक चुनौतीबीच आरसीबीको भविष्य अहिले अनिश्चित बनेको छ ।







प्रतिक्रिया