
एजेन्सी । चीनले सन् २०२६ मा आयोजना गर्ने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक) शिखर सम्मेलनमा ताइवानलाई पनि पूर्ण सहभागी गराउनका लागि अमेरिकाको विदेश मन्त्रालयले आग्रह गरेको छ ।
उक्त सम्मेलनमा भाग लिनका लागि चीनले अनेकौंथरी शर्त तेर्स्याएको भनी ताइवानले गुनासो गरेपछि अमेरिकी आग्रह आएको हो ।
अन्तर्राष्ट्रिय निकायमध्ये एपेकमा मात्र ताइवान सदस्य छ । सन् २०२६ को नोभेम्बर महिनामा शेनजेनमा एपेक शिखर सम्मेलन आयोजना हुँदैछ । अहिले चीन र ताइवानबीचको सम्बन्ध निकै चिसिएको छ र चिनियाँ सेनाले ताइवानविरुद्ध सैन्य दबाबको अभियान चलाइरहेको छ ।
ताइवानले एपेकका कार्यक्रमहरूहरूमा सहभागिता जनाउँदा एक चीन सिद्धान्त पालन गर्नुपर्ने भनी चीनको विदेश मन्त्रालयले हालै जारी गरेको एक विज्ञप्तिमा जनाएको छ । चीनले यस सिद्धान्तलाई ताइवान जलसंयोजकका दुवै किनाराहरू एउटै देशका भाग हुन् भनेर बुझ्ने गरेको छ । तर, ताइपेई सरकार यसलाई अस्वीकार गर्छ ।
एपेक सदस्यहरूले गत वर्ष सर्वसम्मतिका साथ चीनको प्रस्ताव स्वीकार गरी सन् २०२६ मा एपेक आयोजना गर्न दिने निर्णय गरेको अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले बताए । सबै सदस्यहरूलाई समान आधारमा एपेकका सबै कार्यक्रमहरूमा सहभागी गराउने प्रतिबद्धता कायम रहेको उनको भनाइ छ ।
‘अमेरिकी नागरिकहरूको सुरक्षा हाम्रो सबैभन्दा ठूलो प्राथमिकता हो र चीनमा हुने एपेक बैठकहरूमा सहभागी सबैको सुरक्षा सुनिश्चित गर्न हामी चीनसँग आवश्यक सुरक्षा व्यवस्था र प्रोटोकलहरूका लागि निरन्तर दबाब दिनेछौं,’ प्रवक्ताले थपे ।
‘अमेरिका सबै एपेक सदस्य अर्थतन्त्रहरूको पूर्ण र समान सहभागिताको पक्षमा अडिग छ र त्यसमा ताइवान पनि समावेश छ,’ उनले भने । एपेकमा ताइवानलाई ‘चाइनिज ताइपेई’ भनेर सम्बोधन गरिन्छ । यो एपेकका निर्देशन, नियम र स्थापित अभ्यासहरूसँग मेल खान्छ । त्यसको पुष्टि चीनले सन् २०२६ को आयोजनाको प्रस्ताव गर्दाखेरी नै गरेको थियो ।
ताइवान एपेकमा चाइनिज ताइपेई नाम सहित सहभागी हुनेछ । राजनीतिक विवादहरू नहोस् भनेर उसले आफ्नो राष्ट्रपति पठाउने गरेको छैन ।
ताइवानको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारले अन्तर्राष्ट्रिय मञ्चमा चीनलाई ताइवानको प्रतिनिधित्व गर्ने अधिकार नरहेको बताउने गरेको छ ।
कुनै पनि एपेक सदस्य राष्ट्रसँग ताइवानको औपचारिक कूटनीतिक सम्बन्ध छैन ।
चीनले अन्तिमपटक सन् २०१४ मा एपेक सम्मेलन आयोजना गरेको थियो । त्यसबेला ताइवानका तत्कालीन राष्ट्रपति मा यिङ–जिउको नेतृत्वमा चीन र ताइवानबीच राम्रो सम्बन्धहरू कायम भएको थियो । उक्त समयमा दुवै पक्षबीच व्यापार र पर्यटनसम्बन्धी ऐतिहासिक सम्झौता भएको थियो ।
तर, सन् २००१ मा ताइवानले प्रतिनिधि पठाउने विषयमा विवाद भएपछि चीनमा भएको एपेक सम्मेलन बहिष्कार गरेको थियो ।








प्रतिक्रिया