
एजेन्सी । कांग्रेस नेता राहुल गान्धीले युवापुस्ता, विशेषगरी जेनजी, केन्द्रित अभियानलाई जोडतोडका साथ उठाएका छन् ।
बुधबार नयाँ दिल्लीमा उनले चुनाव आयोग र सत्तारूढ भाजपाविरुद्ध धाँधलीको तेस्रो प्रमाणको सेट सार्वजनिक गर्दै उनले जेनजीलाई विद्रोहका लागि अघि बढ्न आह्वान गरेका हुन् ।
चुनावमा धाँधली भएको भनी राहुलले लगाएका आरोपहरूको केन्द्रविन्दु हरियाणा र बिहार हुन् । हरियाणामा कांग्रेस गत वर्ष भाजपासँग पराजित भएको थियो । बिहारमा भोलि पहिलो चरणको चुनावमा उसले भाजपा–जद(यू) गठबन्धनलाई सत्ताबाट हटाउने आशा गरिरहेको छ । राहुलका अनुसार, लाखौं नक्कली मतदाताहरू भाजपालाई सहयोग गर्नका लागि सूचीमा थपिएका वा हटाइएका थिए ।
राहुल गान्धीको ध्यान विशेष गरी जेनजीमाथि केन्द्रित थियो । जेनजीले हालै नेपालमा सरकार ढाल्ने आन्दोलनको नेतृत्व गरेको कुरालाई राहुलले सन्दर्भ बनाए ।
‘जेनजीले भोट चोरीलाई गम्भीरतापूर्वक लिनुहोस् भन्छु किनभने तपाईंहरूको भविष्य खोसिँदैछ । चोरी तपाईंहरूबाट नै भइरहेको हो,’ उनले बताए ।
बिहारमा मतदान सुरु हुन लाग्दा उनले गरेको यस प्रस्तुतिको अन्त्यमा एउटा स्लाइडमा लेखिएको थियो, ‘भारतका जेनजी र युवाहरूमा सत्य र अहिंसाको माध्यमबाट हाम्रो लोकतन्त्र पुनःस्थापित गर्ने शक्ति छ ।’
राहुल गान्धीले बेरोजगारी, भ्रष्टाचार र असमानताप्रति युवाहरूको असन्तुष्टिलाई केन्द्रमा राख्दै देशव्यापी अभियान थालेका छन् । त्यसलाई उनले संविधान बचाउने लडाइँका रूपमा प्रस्तुत गरेका छन् ।
नेपाल, बंगलादेश र श्रीलंकाजस्ता छिमेकी देशहरूमा युवाहरूले नेतृत्व गरेका आन्दोलनपछि यो सन्देश अझ प्रखर भएको राहुलको भनाइ छ । भारतको लद्दाखमा समेत हालै पूर्ण राज्यको मागसहित भएका प्रदर्शनहरूमा युवाहरूको मुख्य भूमिका खेलेका थिए ।
राहुलले सेप्टेम्बर महिनामा मतदाता नामावलिमाथिको धाँधलीका विषयमा गरेको पत्रकार सम्मेलन नेपालमा भएको आन्दोलनकै समयतिर भएको थियो ।
त्यसबेला उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘देशका युवा, विद्यार्थी, र जेनजीहरूले संविधान बचाउनेछन्, लोकतन्त्रको रक्षा गर्नेछन् र मत चोरी रोक्नेछन् । म सधैं उनीहरूका साथमा रहन्छु । जय हिन्द !’
भारतीय राजनीतिक भाषामा डिजिटल पुस्ताको स्पष्ट उल्लेख निकै नयाँ कुरा हो । यसलाई भाजपा नेताहरूले भारतमा नेपाल वा बंगलादेशजस्तो अवस्था निम्त्याउने प्रयास भनेर व्याख्या गरेका छन् ।
राजनीतिक वंशका कारण नेपो किड भनेर आलोचना खेप्दै आएका राहुल गान्धीले पछिल्ला महिनाहरूमा सडक यात्राको राजनीतिक शैलीबाट आफ्नो छवि बदल्ने प्रयास गरिरहेका छन् । उनी प्रायः भन्ने गर्छन्, ‘भाजपाले युवाहरूलाई रोजगारी नभई उनीहरूको ध्यान भड्काउन सस्तो डेटा दिएको छ ।’
भाजपाले राहुलको यो जेनजी अपीललाई अशान्ति र अस्थिरता भडकाउने खतरनाक प्रयास भनेर वर्णन गरेको छ।
भाजपा सांसद निशिकान्त दुबेले भने, ‘जेनजी वंशवादी राजनीतिविरुद्ध छ । नेहरू, इन्दिरा, राजीव र सोनियापछि राहुललाई जनताले किन सहने ?’
गत साता कांग्रेस सांसद शशि थरूरले प्रकाशित गरेको लेखमा पनि राहुलको वंशीय प्रभावप्रति टिप्पणी गरेका थिए । थरूरले लेखे, ‘नेहरू–गान्धी वंशको प्रभाव भारतको स्वतन्त्रता संग्रामसँग गाँसिएको छ । तर, यसले राजनीतिक नेतृत्व जन्मसिद्ध अधिकार हो भन्ने धारणा पनि मजबुत बनाएको छ ।’
थरूरका यी शब्दहरूले बिहार विधानसभाको चुनावको मुखैमा भाजपालाई नयाँ राजनीतिक हतियार थमाइदिएको छ ।
थरूरले आफ्नो लेखमा कांग्रेस बाहेकका दलहरूमा पनि वंशवादका उदाहरणहरू उल्लेख गरेका थिए । तर, भाजपाभित्रका सम्भावित नेपो मुद्दाहरूको भने उल्लेख गरेका थिएनन् ।








प्रतिक्रिया