इन्टरनेट सेवा प्रदायक टेकमाइन्डले क्षमता र पूर्वाधार सुदृढ बनाउन ४ अर्ब लगानी गर्दै

525
Shares

काठमाडौं । टेकमाइन्ड नेटवर्कले सञ्चालन क्षमता र पूर्वाधार सुदृढ बनाउनका लागि ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ ।

कम्पनीले क्षमता विस्तार गरी व्यापारलाई अझ प्रभावकारी बनाउने उद्देश्यले ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।

कम्पनीले उक्त आयोजना निर्माणका लागि ३ अर्ब रुपैयाँ बैंकबाट कर्जा लिई लगानी गर्ने भएको छ भने १ अर्ब रुपैयाँ इक्वीटीबाट लगानी गर्ने भएको छ ।

कम्पनीले लगानीको अनुपात ७५:२५ राखेको छ । त्यसैगरी, कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ४२ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले पूर्वाधार निर्माण र क्षमता विस्तारका लागि गरिएको खर्चले आगामी दिनमा सेवाको गुणस्तर, क्षमता र दीर्घकालीन वृद्धि हुने अपेक्षा गरेको छ ।

सन् २०११ मा स्थापना भएको कम्पनी सन् २०२४ मा मात्रै पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो ।

कम्पनीले तीब्र गतिको फाइबर र केबल इन्टरनेटका साथै डिजिटल टीभीको सेवा दिँदै आएको छ ।

कम्पनी नेपालको नऔं इन्टरनेट सेवा प्रदायक कम्पनीको हो । कम्पनीले विगत १५ वर्षदेखि इन्टरनेटको सेवा दिँदै आएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा ७१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२४ मा ७४ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ७९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

नेपालमा पछिल्लो सयम इन्टरनेट प्रदायक कम्पनीहरु बढ्दो क्रममा छन् । बजारमा उच्च माग हुँदा लगानीकर्ताहरुले इन्टरनेट क्षेत्रमा उच्च लगानी गरिरहेका छ । कम्पनीहरुले फोरजी नेटवर्कलाई विस्तार गरिरहेका छन् भने दुर्गम क्षेत्रहरुमा कनेक्टीभिटीको कार्यहरु भइरहेको छ ।

नेपालमा ६० वटाभन्दा बढी इन्टरनेट सेवा प्रदायक छन् । त्यसमध्ये २० वटा इन्टरनेट सेवा प्रदाय कम्पनीको बजार हिस्सा ९८ प्रतिशत छ । साथै, ७२ प्रतिशत बजार हिस्सा भने पाँच वटा इन्टरनेट सेवा प्रदायक कम्पनीले ओगटेको छ । जसमा टेकमाइन्ड नेटवर्कको ३ प्रतिशत बजार हिस्सा रहेको रेटिङमा उल्लेख छ ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी एक्लैले भने नेपालको ३२ प्रतिशत हिस्सा ओगटेको छ ।

टेकमाइन्डका देशभर १ लाख १० हजार सक्रिय ग्राहक छन् । उक्त ग्राहकको आधारमा कम्पनीको ३ प्रतिशत बजार हिस्सा रहेको छ ।

कम्पनीले सन् २०२० मा मा ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा सबैभन्दा बढी कारोबार गरेको थियो । कम्पनीले सो वर्ष २ अर्ब ३० करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले आफ्नो कारोबारबाट १ करोड रुपैयाँदेखि ४ करोड ३० लाख रुपैयाँसम्म खुद नाफा कमाएको जनाएको छ ।

कम्पनीले गत आवमा गरेको व्यापारमध्ये २८ प्रतिशत रिटेल ग्राहकबाट गरेको छ भने ७ प्रतिशत कर्पोरेट ग्राहक र २६ प्रतिशत सामग्री बिक्रीबाट भएको उल्लेख छ । साथै, २९ प्रतिशत टेक्निकल सपोर्टबाट भएको जनाएको छ ।

टेकमाइन्ड्स नेटवर्कको संस्थापक र प्रमुख कार्यकारी अधिकृत कमलराज बस्तोला हुन् । जसले इन्टरनेट सेवा क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव राखेका छन् ।